newa srijana

पोखरामा सय शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय बनाइने

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण स्थलको बिहीबार निरीक्षण गरेका छन् । पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा संघ सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्न लागेको हो ।

एक सय शय्याको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ ।

जग्गाको निरिक्षणपछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गरे । चिकित्सालयको निर्माणले पार्ने सकरात्मक र नकारात्मक प्रभावका विषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पुरा भएको उनले बताए ।

World link net

मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेण्डर प्रक्रियाद्धारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको जानकारी दिए । मन्त्री पौडेलले विनियोजन भएको १० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आव्हान् गरिने उल्लेख गरे ।

एक सय शय्या चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराइएको पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए । थप १० रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको उनले सुनाए ।

यसअघि २५ शय्याको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणको अनुरोध गरेको थियो । संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाँको लागत अनुमान रहेको छ ।

चिकित्सालयमा शिरोधारा, साउना वाथ, स्टीम बाथ, ज्याकुजी, अकुपंचर, नेचुरोप्याथिक, योगलगायत सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए । पञ्चकर्म सेवाका लागि भिआइपी डिलक्स र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने डा. गौतमले बताए । डिलक्सपछि क्याबिन र साधारण शैया गरेर एकसय पुर्‍याइने जानकारी दिँदै डा. गौतमले आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डीपीआर तयार गरिएको बताए ।

सिटीजन फनिच्रर