GIF TIGER CUP

पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउने घोषणा

नेपालमा घरभित्रै हुन्छन् जलनका ७० प्रतिशत घटना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् ।

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधासम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ ।’

गत ३ फागुनमा पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

GIF TIGER CUP

पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोत साधनयुक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताए । कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुन आवश्यक रहेको मेयर आचार्यको भनाइ थियो । जलनसम्बन्धी सचेतना र प्राथमिक उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताए । जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए । देशभर ९० वटा केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने उनले बताए । ‘जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ । देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,’ डा. नकर्मीले थपे, ‘त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ ।’ कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए ।

घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका उपाय सुझाए । ‘आगो लागेपछि आत्तिएर भाग्न हुँदैन । भुइँमा लड्नुपर्छ । लडीबुडी गर्नुपर्छ । जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’ उनले थपे, ‘तातोपना घुम्सिएर घाउ गहिरो हुन्छ । पोलेको ठाउँमा पानी खन्याउनुपर्छ । त्यसले घाउ गहिरो हुँदैन । तर, त्यो कुरा धेरै भएको पाइँदैन ।’

जलनविरुद्धका अभियन्ता उज्वलविक्रम थापा वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा व्याख्या गरे । दुर्घटना जुनसुकै समय हुनसक्ने भन्दै थापाले पहिल्यै सचेत हुन उनले आग्रह गरे । ‘मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ । एउटै गल्तीले जल्ने गर्छन् । मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला । कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटना भनिएको हो,’ थापाले भने ।

आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे । पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्ने अभियन्ता थापाले सुझाव दिए ।

Leave A Reply

Your email address will not be published.