काठमाडौं । अवैध रूपमा अमेरिका बसिरहेका नेपालीहरूलाई बुधबार अमेरिकी सरकारले काठमाडौं ल्याएर छाडिदिएको छ ।
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोर्ट्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी-२३ जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।
बुधबार नेपाल आएको जहाज भोलि अमेरिका फर्किने उनले बताए ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जहाजमा ८ जना नेपालीहरू रहेको जानकारी दिए ।
आठैजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ ।
मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई अवैधरुपमा अमेरिका पुर्याएको हुनसक्ने भएकाले अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाइएको हो ।
अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन् । त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।