पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको कार्यालय सचिवको जिम्मेवारी तनहुँका रमाकान्त (आर.के) पोख्रेलले पाएका छन् ।
तनहुँको घिरिङ गाउँपालिका–१ का पोख्रेलले शुक्रबारदेखि उक्त जिम्मेवारी सम्हालेका छन् । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले पोख्रेललाई जिम्मेवारी तोकिएकोे औपचारिक पत्र शुक्रबार नै हस्तान्तरण गरेका छन् । गत फागुन २० गते बसेको सचिवालय पूर्ण बैठकले पोख्रेललाई कार्यालय सचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
आर.के अनेरास्ववियुको स्कुल प्रारम्भिक कमिटी सदस्य, तनहुँ जिल्ला सदस्य, सचिवालय सदस्य, सचिव हुँदै अध्यक्ष भएका थिए । उनी संगठनको केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, गण्डकी प्रदेश कमिटी सचिव र संयोजक पनि भए । उनी नेकपा (एमाले)जिल्ला कमिटी तनहुँको सदस्य पनि भइसकेका छन् । गत जेठमा भएको एमालेको जिल्ला अधिवेशनमा पोख्रेल उपसचिवमा पराजित भएका थिए ।

२०८० पुसमा अनेरास्ववियुको प्रदेश अधिवेशन भएको थियो । त्यतिबेला कमिटीको संयोजक रहेका पोख्रेल अध्यक्ष बन्न चाहेका थिए । तर, अध्यक्ष मण्डलले आकांक्षीसँग छलफल नै नगरी एकलौटी नाम घोषणा गरेपछि उनी अध्यक्ष बन्न पाएनन् । यो अधिवेशन भएको पाँच महिनापछि आर.के.ले पार्टी राजनीतिमा सक्रिय हुने र पदाधिकारी लड्ने निधो गरे । जिल्ला अधिवेशनमा उनी उपसचिवमा पराजित भए । त्यसयता अनेरास्ववियु र पार्टीमा परिभाषित जिम्मेवारीमा नरहेका पोख्रेललाई प्रदेश कमिटीको सचिवालय बैठकले कार्यालय सचिवको जिम्मेवारी सुम्पिएको छ ।
२०७४ सालको निर्वाचनपछि तनहुँका किरण गुरुङ गण्डकी प्रदेशको अर्थमन्त्री हुँदा रमाकान्त स्वकीय सचिव थिए ।