पोखरा । नेत्रविक्रम चन्द विप्लवनिकट विद्यार्थी प्रकाश धामी इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)अध्यक्षमा विजयी भएका छन् । निकटम प्रतिस्पर्धीलाई २ सय ६७ मतले पराजित गरेर स्वतन्त्र उम्मेद्वारी दिएका उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
बुधबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार धामीले ७ सय १६ मत पाए । अनेरास्ववियुका अनुप न्यौपानेले ४ सय ४९ मत प्राप्त गरे । नेविसंघका सौगात पण्डितले ३ सय ४६, अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १ सय ७८ मत पाएका छन् ।

अध्यक्ष निर्वाचित धामी वास्तवमै कुनै पार्टीसँग आबद्ध नरहेको र स्वतन्त्रले जितेको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालतिर देखिएको छ । तर, यसमा सत्यता छैन । एक वर्षअघिसम्म नेकपा (माओवादी केन्द्र)का कट्टर समर्थक रहेका उनी अहिले त्यो पार्टी र त्यससम्बद्ध विद्यार्थी संगठनमा छैनन् । अखिल (क्रान्तिकारी)को इन्जिनियरिङ क्याम्पस कमिटी सचिव रहेका उनले अध्यक्ष हुन नपाएपछि संगठन छोडेका थिए । त्यसपछि उनी विप्लवनिकट अखिल (समाजवादी)सँग जोडिए । त्यसैले उनी कुनै राजनीतिक दल वा विचारमा आस्था नराख्ने स्वतन्त्र उम्मेद्वार थिएनन् । कुनै संगठनको आधिकारिक उम्मेद्वार नरहेको र स्वतन्त्र उम्मेद्वारी दिएकाले मात्र उनी स्वतन्त्र उम्मेद्वार हुन् । उनको घर दार्चुला हो ।
यो क्याम्पसमा सचिव र कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)ले बाजी मारेको छ । अखिल (क्रान्तिकारी)का हरिकृष्ण खड्का सचिव निर्वाचित भएका छन् । क्रान्तिकारीका सशीष सापकोटा कोषाध्यक्षमा विजयी भए ।
अनेरास्ववियुले ५, नेविसंघ र क्रान्तिकारीले १/१ सदस्य जितेको निर्वाचन समितिले जनाएको छ । अनेरास्ववियुका अश्रान्त पहारी, पूर्णिमा अछामी, अंकित गैरे, अमृत बस्नेत, रूपेश पौडेल, नेविसंघका सक्षम भण्डारी र क्रान्तिकारीकी निकिता पाठक सदस्य निर्वाचित भए । उक्त क्याम्पसमा २ हजार ४१ मतदाता थिए । मंगलबार भएको निर्वाचनमा १ हजार ६ सय ९२ मत खसेको थियो ।
