पोखरा । पटक–पटक गरिएको प्राविधिक तथा जैविक परीक्षण सफल भएपछि पर्यटकीय राजधानी पोखरामा मोती उत्पादन औपचारिक रूपमा सुरु गरिएको छ । दीर्घकालीन अध्ययन, अनुसन्धान र परीक्षणपछि सुरु भएको मोती उत्पादनलाई ‘पोखरा मोती’ नामबाट ब्रान्डिङ गर्दै बजारमा ल्याउने प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।
पोखराका तालमा स्थानीय जातका सिपी परीक्षण सफल भए सँगै अर्को परिक्षण थाइल्यान्डबाट आयात गरिएको उन्नत जातका सिपीमा परीक्षण सफल भएको र मोती उत्पादन गर्न सकिने सम्भावना प्रमाणित भएको छ । नेपाल सरकारअन्तर्गत नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को मत्स्य अनुसन्धान केन्द्र, बेगनास पोखराले गरेको लामो समयको अनुसन्धानबाट सिपी (सीपी) मार्फत मोती खेती सफल भएको हो । यस सफलतासँगै अब माछापालन गर्ने किसानले एउटै पोखरी वा तालमा माछा र सिपी दुवै पालन गरी दोहोरो आम्दानी लिन सक्ने बाटो खुलेको छ ।
मत्स्य अनुसन्धान केन्द्रका प्रमुख वैज्ञानिक डा. मोहम्मद इकबाल हुसेनका अनुसार सन् २०१७ (वि.सं. २०७४) देखि पोखराको बेगनासताल, रूपाताल, फेवाताललगायत क्षेत्रमा सिपीमा मोती उत्पादनसम्बन्धी अनुसन्धान हुँदै आएको थियो । अनुसन्धानका क्रममा स्थानीय जलाशयमा पाइने सिपी प्रजाति तथा थाइल्यान्डबाट आयात गरिएको उन्नत जातका सिपीमा परीक्षण गरिएको थियो । परीक्षणबाट सिपीको वृद्धि दर, बाँच्ने क्षमता, प्रजनन अवस्था र मोती उत्पादनको सम्भावना सकारात्मक देखिएको उनले बताए ।
डा. हुसेनका अनुसार सिपी समुन्द्रमा मात्र पाइने भन्ने पुरानो मान्यतालाई यो अनुसन्धानले तोडिदिएको छ । “हाम्रो अध्ययनले सिपी साना पोखरी, ताल, जलाशय र खोलानालामा पनि सजिलै पालन गर्न सकिने प्रमाणित गरेको छ,” उनले भने, “माछासँगै एउटै पोखरीमा सिपी पाल्न सकिने भएकाले किसानले अतिरिक्त लगानी बिना नै थप आम्दानी लिन सक्छन्।”
अनुसन्धानबाट रूपाताल मोती उत्पादनका रैथाने र आयतितका दुवैका लागि सबैभन्दा उपयुक्त देखिएको छ । तालको गहिराइ, पानीको गुणस्तर र मलिलोपन सिपी पालनका लागि अनुकूल रहेको वैज्ञानिकहरूको भनाइ छ । एक हेक्टर क्षेत्रफलमा करिब २० हजार सिपी पालन गर्न सकिने र पोखरीमा माछाका लागि हालिने आहार तथा मलबाट नै सिपीका लागि आवश्यक आहार उत्पादन हुने हुँदा लागत न्यून हुने पनि केन्द्रले जनाएको छ ।
मोती सजावट र गरगहनाका साथै औषधीय प्रयोजनमा ऐतिहासकालमा च्यावन ऋषिले समेत आखाँको उपचारको लागि यसको प्रयोग गरेको भनाइ रहेको छ ।
हाल विश्व वजारमा सुनको मुल्य आकासीय मोतीकोे बजार मूल्य विस्तार भइरहेको छ । हाल नेपालमा प्रयोग हुने धेरैजसो मोती विदेशबाट आयात हुने गरेका छन् । एक थान मोतीको मूल्य आकार र गुणस्तरअनुसार दुई हजार रुपैयाँ वा सोभन्दा बढी पर्न सक्ने बताइन्छ । स्वदेशमै मोती उत्पादन गर्न सकिने भएपछि आयात घटाउने र भविष्यमा निर्यातसमेत गर्न सकिने सम्भावना देखिएको छ ।
अनुसन्धानको सफलताले सरकार, सहकारी र निजी क्षेत्रलाई मोती खेतीमा लगानी गर्न प्रेरित गरेको छ । रूपाताल पुनस्र्थापना तथा मत्स्यपालन सहकारीले व्यावसायिक रूपमा मोती उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ । सहकारीका प्रतिनिधिहरूका अनुसार आवश्यक तालिम र प्राविधिक सहयोग पाए स्थानीय बासिन्दाको आयआर्जन बढाउन मोती खेती महत्वपूर्ण माध्यम बन्न सक्छ ।

वैज्ञानिक हुसेनका अनुसार मोती खेती सजिलो र कम मेहनतको काम भएकाले महिला र युवालाई समेत रोजगारीको अवसर सिर्जना गर्न सक्छ । “माछापालनसँगै सिपी पालनलाई एकीकृत गर्न सके किसानको जीवनस्तर सुधार हुनेछ,” उनले भने, “संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा पोखराका तालहरूलाई मोती उत्पादनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।”
पोखराको जलवायु, ताल तथा जलाशयको पानीको गुणस्तर मोती उत्पादनका लागि उपयुक्त रहेको निष्कर्षसहित केही वर्षअघि सम्भाव्यता अध्ययन थालिएको थियो । त्यसपछि सिपी (ओइस्टर) भित्र मोती उत्पादनसम्बन्धी विभिन्न चरणका परीक्षण गरिएका थिए । प्रारम्भिक चरणमा अपेक्षित नतिजा नआए पनि पछिल्ला परीक्षणहरू सफल भएसँगै व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
परियोजनाअन्तर्गत पोखराका विभिन्न ताल तथा जलाशय क्षेत्रमा मोती उत्पादनका लागि आवश्यक पूर्वाधार विकास गरिएको छ । वैज्ञानिक विधि अपनाई सिपीभित्र नाभिक राखेर निश्चित समयसम्म सुरक्षित वातावरणमा हुर्काइने प्रणाली प्रयोग गरिएको परियोजनामा संलग्न प्राविधिकहरूले बताएका छन् । उत्पादन प्रक्रियामा स्थानीय जनशक्तिलाई तालिम प्रदान गरी सहभागी गराइएको छ ।
उच्च मुल्य बस्तुको सम्भावना पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरीयाले उत्पादन भएको मोतीलाई ‘पोखरा मोती’ नामबाट ब्रान्डिङ गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारी भइरहेको छ । प्रारम्भिक चरणमा सीमित मात्रामा उत्पादन भए पनि चरणबद्ध रूपमा उत्पादन विस्तार गर्ने योजना रहेको परियोजना व्यवस्थापन पक्षको भनाइ छ ।
मोती उत्पादनलाई पर्यटनसँग जोडेर अघि बढाउने नीति लिइएको छ । ताल अवलोकनसँगै मोती उत्पादन प्रक्रिया अवलोकन तथा खरिदको व्यवस्था मिलाइने तयारी भइरहेको छ । यसले पोखराको पर्यटन गतिविधिमा थप विविधता ल्याउने अपेक्षा गरिएको छ ।
परियोजनामा संलग्न पक्षहरूका अनुसार मोती उत्पादनले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नेछ । सिपी पालन, हेरचाह, प्रशोधन, गहना निर्माण तथा बजार व्यवस्थापनका क्षेत्रमा रोजगारीका अवसर विस्तार हुने अनुमान गरिएको छ ।
तालतलैयाको संरक्षणलाई प्राथमिकतामा राख्दै मोती उत्पादन वातावरणमैत्री तरिकाले सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । जलचर जीवन र पानीको स्वच्छतामा असर नपर्ने गरी नियमित अनुगमन र प्राविधिक मापदण्ड पालना गरिने बताइएको छ ।
‘पोखरा मोती’ ब्रान्डिङ सफल भएमा मोती उत्पादन क्षेत्रमा स्वदेशी विकल्प स्थापित हुने र पोखरालाई पर्यटनसँगै उत्पादन र नवप्रवर्तनको केन्द्रका रूपमा चिनाउने अपेक्षा गरिएको छ ।





