पोखरा । पोखरा–११ फूलबारीमा शहिद दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
फूलबारी क्लबको आयोजना र नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८५ युनिट रगत संकलन गरिएको हो। कार्यक्रममा सहभागी सबै रक्तदातालाई मायाको चिनो र प्रमाणपत्र वितरण गरिएको क्लबले जनाएको छ।।


नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष ढकालले यस्ता रक्तदान कार्यक्रमले आपतकालीन अवस्थामा बिरामीलाई ठूलो राहत पुग्ने बताए । उनले भने रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्छ । यस्ता कार्यक्रमले धेरैको जीवन बचाउन मद्दत गर्छन्।
फूलबारी क्लबका रक्तदान कार्यक्रम संयोजक अनन्तराज आचार्यले यस्तो रक्तदान कार्यक्रमले जुनसुकै बेला आवश्यकतामा परेका बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहयोग पुग्ने बताए। क्लबले यस्ता रक्तदान कार्यक्रम भविष्यमा पनि निरन्तरता दिने उनले जनाए।

क्लब अध्यक्ष जनार्दन बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सविना बास्तोला आचार्यले गरेका थिए। कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूको पूर्ण उपस्थितिसहित रक्तसंचार सेवाका प्राविधिक महेन्द्र केसीलगायत जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।





