पोखरा । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण पोखरामा सार्वजनिक गरेको छ ।
काठमाडौंपछि कम्पनीले गण्डकी प्रदेशका ग्राहकका लागि पोखरा–९ नयाँबजारस्थित बुलेट सोरुममार्फत हन्टर ३५० को २०२५ संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको हो । अब गण्डकी प्रदेशका ग्राहकले उक्त सोरुमबाट मोटरसाइकलको आधिकारिक बिक्री–वितरण, बुकिङ तथा टेस्ट–राइड गर्न सक्ने कम्पनीले जनाएको छ ।
सहरी जीवनशैलीबाट प्रेरित डिजाइनमा आएको नयाँ हन्टर ३५० मा सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक संरचना रहेको छ । यसले पोखराका सहरी सडकका साथै पहाडी मार्गमा पनि सहज र आरामदायी राइडिङ अनुभव दिने बताइएको छ ।
नयाँ संस्करणमा स्लिप–एसिस्ट क्लच जडान गरिएको छ, जुन रोयल इन्फिल्डको ३५० सिसी सेग्मेन्टमा पहिलोपटक प्रयोग गरिएको सुविधा हो । साथै, परिमार्जित पछाडिको सस्पेन्सन, १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प र ट्रिपर नेभिगेटर अप्सनसमेत समावेश गरिएको छ ।
हन्टर ३५० मा ३४९ सीसी जे–सिरिज इन्जिन प्रयोग गरिएको छ, जसले सहरी यात्रामा चुस्त र सहज प्रदर्शन दिने दाबी कम्पनीको छ । सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेल हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले प्रयोग गरिसकेको कम्पनीले जनाएको छ ।
नयाँ हन्टर ३५० चार ‘स्ट्रीट–इन्स्पायर्ड’ रङमा उपलब्ध रहेको छ । तीमध्ये रियो ह्वाइट, टोकियो ब्ल्याक, लण्डन रेड र ग्राफाइट ग्रे रहेका छन् । कम्पनीका अनुसार यी रङ विश्वका सांस्कृतिक पहिचान झल्काउने अवधारणाबाट प्रेरित छन् ।

मूल्य रङअनुसार फरक तोकिएको छ । सिंगल टोन (रियो ह्वाइट, ड्रापर ग्रे र ग्राफाइट ग्रे) को मूल्य ४ लाख ९४ हजार ९ सय रुपैयाँ र डुअल टोन (टोकियो ब्ल्याक, लन्डन रेड र रिबेल ब्लु) को मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।
कार्यक्रममा रोयल इन्फिल्डका निर्देशक मेघ राज पौडेलले पोखरा पर्यटन र एड्भेन्चरले भरिएको शहर भएकाले हन्टर ३५० यहाँका लागि उपयुक्त मोडेल भएको बताए । उनले सहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो अनुभव दिने विश्वास व्यक्त गर्दै गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा उत्साहित भएको बताए।
पोखरास्थित बुलेट सोरुममा हन्टर ३५० को टेस्ट–राइड तथा तत्काल डेलिभरी सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सार्वजनिक कार्यक्रमकै क्रममा सोरुम पोखराबाट चार जना उपभोक्ताले हन्टर ३५० खरिद गरेका छन् ।
कम्पनीका निर्देशक पौडेलले नेपालका केही सहरमा रोयल इन्फिल्डका स्टोर थपिने जानकारी पनि दिए । हाल नेपालभर २५ वटा स्टोर सञ्चालनमा रहेको र छिट्टै थप ५ वटा स्टोर विस्तार गर्ने योजना रहेको उनले बताए ।
सन् १९०१ देखि उत्पादनमा रहेको रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो । आइशर मोटर्स लिमिटेडअन्तर्गत सञ्चालन हुने यस ब्रान्डका भारतभर २ हजारभन्दा बढी स्टोर छन् भने विश्वका ६५ भन्दा बढी देशमा यसको सेवा विस्तार भइसकेको छ ।
रोयल इन्फिल्डका प्रमुख मोडेलहरूमा हन्टर ३५०, क्लासिक ३५०, मिटियर ३५०, हिमालयन ४५० र इन्टरसेप्टर ६५० लगायतका सिरिजहरू रहेका छन् ।





