पोखरा । पोखराको लेकसाइड तालबाराहीचोक स्थित बाराही खेल मैदानमा चैत ११ गतेदेखि ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा) को प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसन (वाडा) को आयोजनामा हुने यो शो चैत १५ गतेसम्म सञ्चालन हुने छ ।
शोमा २० वटा स्टल रहने छन् । १६ वटा ब्राण्डका चार पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका दुई पाङ्ग्रे र एउटा हेभी कमर्सियलका अलावा लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एक्सेसरिज तथा वित्तीय संस्थाहरूका स्टल रहने वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए । अटो व्यवसायीलाई एउटै छाना मुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्दै आन्तरिक पर्यटनमा टेवा पुर्याउनु शोको उद्देश्य रहेको उनले बताए ।
शोमा एम्पेयर, एथर, अक्वेल, बिवाईडी, चेरी, वान्डा, चेतक, दीपाल, डोन्फेङ, फर्थिङ, ग्यारो, हुण्डाई, कामा, किया, लिप मोटर, म्याक्सस, एसएमएल इसुजु, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस–टी, यामाहा, जोन्टेसलगायत प्रख्यात ब्राण्डका सवारी साधन प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् । कम्पनीहरूले ५० हजारदेखि एक लाखसम्म छुट दिइने जनाइएको छ ।


शोको थप आकर्षणका रूपमा भिन्टेज कार र रोबोट प्रदर्शनी रहने छ । बतास ब्रदर्सका सञ्चालक आनन्दराज बतासको विशेष सहयोगमा ४० वर्ष पुरानाका करिब १० वटा गाडी प्रदर्शनीमा राखिने छन् । नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका गाडीहरूबारे जानकारी दिने उद्देश्यले यो व्यवस्था मिलाइएको हो । अत्याधुनिक प्रविधि र नव परिवर्तनसँग आम सर्वसाधारणलाई परिचित गराउन युनीट्री जि–वान ह्युमानोइड रोबोट, युनीट्री गो–टु र चंखेलगायत आकर्षक रोबोट पनि प्रदर्शनीमा राखिने वाडाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिए ।
पाँच दिन चल्ने यस शोमा ४५ हजार दर्शक आउने आयोजकको विश्वास छ । शोमा प्रवेशका लागि एक सय रुपैयाँको टिकट काट्नुपर्ने छ भने विद्यार्थीलाई ५० प्रतिशत सहुलियत दिइने छ ।
पछिल्लो समय डिजेल–पेट्रोलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको बिक्री बढी हुने गरेको जनाइएको छ ।




