newa srijana

सूर्यदर्शन सहकारीका पीडित कृष्ण जैसी धनुष सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । सूर्यदर्शन सहकारी प्रकरणमा रवि लामिछाने विरुद्ध जाहेरी दिने मध्येका कृष्णप्रसाद जैसी अर्कै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

पोखरास्थित धनुष बचत तथा ऋण सहकारी संस्थामा १२ करोड ५६ लाख रुपैयाँ हिनामिनासम्बन्धी प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार उनलाई पक्राउ गरेको हो । उक्त प्रतिवेदन वित्तीय विश्लेषक निर्मल गौतमले तयार पारेका हुन् । यस प्रकरणमा अन्य चार जनाविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।

प्रतिवेदनअनुसार जैसी धनुष सहकारी ठगीका मुख्य योजनाकारमध्ये एक हुन् । उनले सहकारीको ऋण उपसमितिमा रहेर कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ ।

सिटीजन फनिच्रर

साविक साइनो र धनुष सहकारी मर्ज भई बनेको संस्थामा २०८१ पुसमा गरिएको प्रारम्भिक छानबिनमा १९ करोड १८ लाख रुपैयाँ हिनामिना देखिएको थियो । त्यसमा हालसम्म ६ करोड रुपैयाँ असुल भएको र बाँकी १२ करोड ५६ लाख रुपैयाँ उठ्न बाँकी रहेपछि अनुसन्धान अघि बढाइएको हो ।

प्रतिवेदनमा साविक साइनो सहकारीतर्फ अध्यक्ष गमरेजसिंह गुरुङ, सञ्चालक काशीमाया गुरुङ, सिर्जना गुरुङ र असिम बराल संलग्न रही करिब ३ करोड रुपैयाँ हिनामिना गरेको उल्लेख छ । धनुष सहकारीतर्फ व्यवस्थापक विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको जनाइएको छ ।

यसअघि जैसीसहितको जाहेरीका आधारमा रवि लामिछाने सूर्यदर्शन प्रकरणमा पक्राउ परेका थिए । सो मुद्दामा १९ जनाविरुद्ध प्रारम्भिक अभियोग दर्ता भइसकेको छ भने पुरक प्रतिवेदनमार्फत ५१ जनालाई विपक्षी बनाउँदै १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

अनिल multipurpose