newa srijana

चैत २८ गते पोखरामा हुने रात्रि दौडलाई खेल संघ संस्थाले सहयोग गर्ने

सुरक्षा र व्यवस्थापन ध्यान दिन आग्रह

पोखरा । पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड (नाइट रन) प्रतियोगितालाई सफल बनाउन विभिन्न खेल संघसंस्था तथा सरोकारवालाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा आज(शुक्रबार) आयोजित छलफल कार्यक्रममा सहभागीहरूले यो इभेन्ट पोखराको नयाँ ब्राण्डका रूपमा स्थापित हुन सक्ने भएकाले यसलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् ।

कार्यक्रममा वोल्दै नेपाल ह्यान्डबल संघका महासचिव केशव पाठकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस अभियानलाई सफल पार्न पोखरेलीको साझा जिम्मेवारी रहने बताए । खेल पत्रकार समेत रहेका उनले पोखराको ऐतिहासिक इभेण्ट भएकोले यसको पोखरामा छुट्टै महत्व हुने जनाए ।

गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले प्रतियोगिताबारे आवश्यक सूचना प्रभावकारी रूपमा बनाउन सुझाव दिए । ठाँउ ठाँउमा टोल विकास संस्था, क्लवहरुको सक्रिय सहभागिता गराउनु पर्नेमा जोड दिए । गण्डकी प्रदेश एथ्लेटिक्स संघका अध्यक्ष हरि बरुवालले पोखरामा हुने उक्त प्रतियोगिताको लागि अन्य प्रतियोगितामा भन्दा यसपाली चेस नम्बर अलि ठुलो आकारमा बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार गोविन्द सुवेदीले उक्त प्रतियोगिताको सुरक्षा चुनौती सबै मिलेर सामना गर्न आग्रह गरे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफल पार्न पूर्ण सहयोग रहने विश्वास दिलाए । प्रतियोगिता संयोजक दीननाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिता पोखरामा पहिलोपटक आयोजना हुन लागेकाले सुरक्षा व्यवस्थापनमा कुनै कमी हुन नदिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । छोटो दूरीको पाँच किलोमिटर सडक दौड भएकाले निर्णायकहरू अझ सतर्क हुनुपर्ने उनले सुझाए ।

सिटीजन फनिच्रर

कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धान्त अधिकारीले प्रतियोगिता साँझको समयमा हुने भएकाले कम प्रकाश भएका स्थानहरूमा पर्याप्त लाइटिङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । धावकहरूको भिजिबिलिटी सुनिश्चित गर्न विशेष तयारी गर्नुपर्नेमा जोड दिए । कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले दौड मार्गमा रहेका खाल्डाखुल्डी तथा नालाहरूको पुनः अवलोकन गरी आवश्यक मर्मत तथा स्ल्याब राख्न सुझाव दिए ।

कार्यक्रममा विभिन्न खेल संघसंस्था, पत्रकार तथा सरोकारवालाको सहभागिता रहेको थियो । यसैबीच, आगामी चैत २८ गते आयोजना हुने उक्त रात्रिदौड प्रतियोगिताका लागि अनलाइन फारम खुला गरिएको आयोजकले जनाएको छ । “जाग्छ पोखरा, दौडाउँछ पोखरा” भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा निश्चित संख्या पुगेपछि दर्ता बन्द गरिने र १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई सहभागी नगराइने जानकारी दिइएको छ । प्रतियोगिताका प्राविधिक ओम गुरुङले प्रतियोगितामा हुन सक्ने जोखिम न्यूनिकरण गर्न आफुहरु लागि परेको बताए । फोटो पत्रकार संघ कास्कीका पूर्व अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरामा हुने कुनै पनि सडक दौडमा सुरक्षा चुनौती हुने बताए ।

धावकहरूलाई आफ्नै हेडल्याम्प प्रयोग गर्न अनुरोध गरिएको छ । प्रतियोगिता पोखराको बाराहीघाटबाट सुरु भई विभिन्न मुख्य चोक हुँदै झण्डा पार्कसम्म सञ्चालन हुने केन्द्रका सचिव सागर सुनारले बताए । नेपाली नयाँ बर्षको अवसरमा अयाोजित उक्त रात्रि दौडले पोखराको खेल पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउने आयोजक पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रले जनाएका छन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य, पोखरा–९ को समन्वय तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने प्रतियोगितालाई मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले हस्पिटल पार्टनरका रूपमा नेलम्बो नेपालले मेडिकल पार्टनरका रुपमा सहयोग गर्ने भएको हो । प्रतियोगिताका लागि अटोवेज प्रा.लि., सिटिजन फर्निचर, परिचय एड्भटाइजिङ, जिल्ला खेलकुद विकास समिति कास्की लगायतका संघसंस्थाको सहयोग रहने भएको हो ।

अनिल multipurpose