newa srijana

फेवा महोत्सवमा तीन लाख पर्यटक पोखरा आउने आँकलन

पोखरा। नेपाली नयाँ बर्ष २०८३ मनाउन यसपटक तीन लाख आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने होटल संघ पोखरा नेपालले अनुमान गरेको छ ।

पोखरामा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सवको तयारीबारे जानकारी दिन विहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले सो आँकडा सुनाएका हुन् । यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म संघले लेकसाइडको सडकमा यो महोत्सव आयोजना गर्दै छ । महोत्सवका अवसरमा होटलको अकुपेन्सी दर ९० प्रतिशतसम्म पुग्ने विषय पनि अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले सुनाए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि उनले दिए ।

पोखराको खहरेचोकदेखि सहिदचोक बिचको सडकमा महोत्सव संचालन हुने छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर यो महोत्सव हुन लागेको हो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।

सिटीजन फनिच्रर

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका प्रमुख आकर्षण हुन् । सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी र पप कन्सर्टका कार्यक्रम पनि हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरेबाट निकालिने झाँकी अम्बोटमा पुगेपछि औपचारिक उद्घाटन समारोह सुरु हुने छ ।

महोत्सवलाई भव्य बनाउन विभिन्न उपसमितिबाट काम जारी छन् । केही दिन अघि पूर्वी नेपालका विभिन्न शहरमा पुगी नेपाल पर्यटन बोर्ड गण्डकीसँगको समन्वयमा जाउँ है पोखरा कार्यक्रम अन्तर्गत संघले फेवा महोत्सवको निम्ता बाँडिसकेको छ । लुम्बिनी प्रदेशका संचारकर्मीमार्फत् पश्चिमका बासिन्दालाई पनि महोत्सवका सहभागिताका लागि आमन्त्रण पनि संघले गरेको छ । यही चैत २८ गते पोखरामा हुने रात्री दौडका आयोजक पोखरा क्लिक र पोखरा प्रबद्र्धन केन्द्रसँग सहकार्य गर्दै संघले महोत्सव प्रचारको कार्यक्रम पनि अगाडि बढाएको छ ।

फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केवलकार लि, इ–सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् । इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ । महोत्सव प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् । पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने र आयोजक संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् ।

अनिल multipurpose