पोखरा । पोखरामा हुने चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ को तयारी शुरू भएको छ ।
यहि चैत्र २८ गते देखि ३० गते सम्म नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघको व्यवस्थापनमा हुने सो च्याम्पियनसिपको तयारी शुरू भएको हो ।
२०७९ सालमा चितवनमा सम्पन्न तेस्रो संस्करणको सो च्याम्पियनसिप तीन वर्ष पछि पोखरामा हुने भएको नेपाल एथलेटिक्स संघका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक गजबहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“यो प्रतियोगिता हरेक वर्ष हुनुपर्ने थियो । तर विविध कारणले रोकिन पुग्यो । अब हामी यसलाई निरन्तरता दिने उद्धेश्यका साथ तीन वर्ष पछि पोखराबाट सुरूवात गर्दैछौं ।”
प्रतियोगिता ट्रयाक र फिल्ड गरी दुई विधामा सञ्चालन हुनेछ । देशभरका सातै प्रदेशबाट उत्कृष्ट यू–२० खेलाडीहरूको सहभागिता रहने छ । हरेक प्रदेशबाट १० महिला र १० पुरुष गरी २० खेलाडी गरी कुल १४० जना खेलाडीसँगै एक–एक जना प्रशिक्षक र एक–एक जना टिम व्यवस्थापक गरी कुल १५४ जनाले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रत्येक खेलाडीले एक ट्रयाक र दुई फिल्ड वा दुई फिल्ड र एक ट्रयाक इभेन्टमा मात्र सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा ट्र्याकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड समावेश गरिएको छ । साथै रिले अन्तर्गत ४×१०० मिटर र ४×४०० मिटर मिक्स्ड रिले पनि आयोजना हुनेछन् भने फिल्ड इभेन्टतर्फ हाइजम्प, लङजम्प, सटपुट र ज्याभलिन थ्रो समावेश गरिएको छ ।
कास्की जिल्ला एथलेटिक्स संघ तथा आयोजक समितिका सचिव सिद्धान्त अधिकारीका अनुसार प्रतियोगिताको तयारी शुरु भइसकेको र प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए ।
हरेक इभेन्टमा स्वर्ण, रजत र पदक बिजेता खेलाडीले क्रमश जनही नगद रु ४, ३ र २ हजार तथा रिलेतर्फका विजेताले क्रमश नगद रु ६, ४ र २ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै हरेक प्रदेशका उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई प्रोत्सहान वापत नगद रु ७–७ हजार तथा ओभरअल च्याम्पियनतर्फ एक प्रदेशलाई नगद रु १० हजारका साथमा ट्रफी प्रदान गरिने कास्की जिल्ला एथलेटिक्स संघका कोषाध्यक्ष गोप बहादुर अधिकारीले बताए ।
आयोजकका अनुसार यस प्रतियोगिताले देशभरका युवा एथलेटिक्स प्रतिभालाई पहिचान गर्न तथा भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।




