पोखरा । गण्डकी स्पोर्ट्स क्लबको आगामी दुई वर्षका लागि दीपकराज मुल्मीको नेतृत्वमा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।
क्लबको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले उक्त कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मिलन पुन, प्रथम उपाध्यक्षमा इनोज रञ्जित र द्वितीय उपाध्यक्षमा द्रव्यजंग राणा निर्वाचित भएका छन्। सचिवमा चेतनाथ चालिसे, सह-सचिवमा बिकी गुरुङ, कोषाध्यक्षमा विकास बिजुक्छे र सह-कोषाध्यक्षमा सुजन गुरुङ (रेय्स) रहेका छन्।

सदस्यहरूमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन्।
एनफा कास्की तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलद्वारा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शनिबार नै गोपनीयताको शपथ तथा पदभार ग्रहण गराइएको छ।
कार्यक्रममा निवर्तमान सह-सचिव चेतनाथ चालिसेले सचिवको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे। निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सह-सचिव चेतनाथ चालिसेले कार्यक्रम सञ्चालन गरेका थिए।
विसं २०५५ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरू सञ्चालन गर्दै आएको छ।




