पोखरा । दशौं रारा पोखरा स्पोर्टस् अवार्डमा एथ्लेटिक्सकी नरायणी भण्डारीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको कार्यक्रममा भण्डारीलाई वर्ष खेलाडी महिलाको अवार्ड प्रदान गरिएको हो । वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्डसँगै भण्डारीले हिरोहोन्डाको जुम स्कुटर प्राप्त गरेकी छिन् । उक्त विधाको मनोनयनमा भण्डारीसँगै जुडोकी मनिषा तामाङ र आर्चरीकी मोनिका रानामगर रहेकी थिइन् ।
अवार्ड विजेता भण्डारीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, केल्मी पोखराका प्रमुख राज रम्तेल, मञ्चका अध्यक्ष एमबी आस्थामगर, खेलाडी छनोट समितिका संयोजक तथा मञ्चका पूर्वअध्यक्ष एकराज गिरीले अवार्ड, स्कुटर र प्रमाणपत्र प्रदान गरेका थिए ।
गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन । भाग लिएका हरेकजसो प्रतियोगितामा उनले कुनै न कुनै पदक नजिती फर्किन्नन् ।

१५ औं राष्ट्रपति रनिङ शिल्डमा उनले २८ वर्षअघिको रेकर्ड तोडेर चर्चामा आएकी थिइन् । ८०० मिटर दौड उनले मात्र २ मिनेट १७ सेकेण्ड ९ मिली सेकेण्डमा पूरा गर्न सफल भइन् । सोही प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक हासिल गरेकी हुन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीले उनको यो उपलब्धिको कदर गर्दै गत वर्ष वर्षकै सर्वोत्कृष्ट खेलाडीको रुपमा नगद ४३ हजारसहित पुरस्कृत गरेको थियो ।
सन् २०२५ मा उनी पोखरा ओपन नेशनल एथलटिक्स मिटमा १५०० मिटर दौडमा समेत सिनियर नेशनल च्याम्पियन बनेर अझ चम्किएकी छन् ।
छोरेपाटन माध्यमिक विद्यालयकी यी छात्रा नारायणीले यतिखेर १२ को परीक्षा दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको १० औं पोखरा स्पोर्टस् अवार्डको अर्को विधा ‘पिपुल्स च्वाइस अवार्ड’ मा समेत उत्कृष्ट ५ को मनोनयनमा परेकी भण्डारीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी हुन् ।




