newa srijana

सरकारी अनुदानको प्रभावकारिता बुझ्न तनहुँका कार्यालय प्रमुखहरूको संयुक्त कृषि अनुगमन

कृषकका समस्या, उत्पादन, बजारीकरण र उद्यमको अवस्थाबारे प्रत्यक्ष जानकारी संकलन

पोखरा । तनहुँ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले संयुक्त रूपमा शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा सञ्चालित कृषि फर्म, मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको स्थलगत अनुगमन गरेका छन्। सरकारी अनुदानबाट सञ्चालन भएका कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै वास्तविक अवस्था बुझ्न अनुगमनलाई तीव्रता दिइएको हो।

संयुक्त टोलीले कृषक तथा उद्यमीहरूले सरकारी सहयोगको सदुपयोग गरेका छन् वा छैनन् भन्ने विषयमा प्रत्यक्ष जानकारी लिँदै कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन, बजारीकरण, प्राविधिक चुनौती तथा कृषकले भोगिरहेका समस्याबारे स्थलगत अध्ययन गरेको थियो।

अनुगमन टोलीले सबैभन्दा पहिले शुक्लागण्डकी नगरपालिका वडा नं. १ मा रहेको “ऊँ कृषि फर्म” को अवलोकन गरेको थियो। उक्त फर्म तनहुँ जिल्लामै व्यवसायिक रूपमा सिप्लीकान, कुरीलो तथा कागती खेती गर्ने एकमात्र फर्मका रूपमा परिचित रहेको जनाइएको छ। नेपालमै दुर्लभ मानिने सिप्लीकान खेतीको व्यवसायिक विस्तारले स्थानीय कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको टोलीले जनाएको छ।

अनुगमनका क्रममा फर्म सञ्चालकसँग कृषि उत्पादनको अवस्था, बजार व्यवस्थापन, उत्पादन लागत, श्रमिक व्यवस्थापन तथा प्राकृतिक प्रभावका विषयमा विस्तृत छलफल गरिएको थियो। कृषकहरूले जलवायु परिवर्तन, उत्पादन लागत वृद्धि, बजार अभाव तथा रोग व्यवस्थापन जस्ता समस्या झेलिरहेको जानकारी दिएका थिए।

कृषकहरूले कृषि क्षेत्रमा अझ प्रभावकारी सेवा प्रवाहका लागि “कृषि एम्बुलेन्स” को आवश्यकता औंल्याएका थिए। साथै कृषि उत्पादनको उचित मूल्य निर्धारण, बजारीकरणको सुनिश्चितता, कृषकका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था तथा आधुनिक प्रविधि र प्राविधिक ज्ञानको पहुँच विस्तार गर्नुपर्ने माग समेत राखिएको थियो।

World link net

त्यसैगरी टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं. २ मा सञ्चालित दगाम मौरी पालन केन्द्रको समेत निरीक्षण गरेको थियो। मौरी पालन व्यवसायको वर्तमान अवस्था, मह उत्पादन, शुद्धीकरण प्रक्रिया, ब्राण्डिङ तथा बजार विस्तारका सम्भावनाबारे जानकारी लिइएको थियो। व्यवसायीहरूले मौरीपालन क्षेत्रमा प्राविधिक सहयोग, आधुनिक उपकरण तथा बजारीकरणमा थप सहजीकरण आवश्यक रहेको बताएका थिए।

अनुगमन टोलीले वडा नं. ४ दुलेगौंडास्थित कृषि उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालित “शुक्लागण्डकी सातु उद्योग” को पनि अवलोकन गरेको थियो। उद्योगमा प्रयोग हुने कच्चा पदार्थको उपलब्धता, उत्पादन प्रक्रिया, बजार व्यवस्थापन तथा स्थानीय उत्पादनको प्रवद्र्धनबारे उद्यमीसँग छलफल गरिएको थियो। उद्योग सञ्चालकहरूले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सरकारी स्तरबाट बजारीकरण तथा ब्राण्डिङमा सहयोग आवश्यक रहेको बताएका थिए।

अनुगमन टोलीमा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, अनुसन्धान कार्यालय तनहुँका अनुसन्धान निर्देशक मनोज ढकाल, कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायतको सहभागिता रहेको थियो।

टोलीले कृषक तथा उद्यमीका गुनासा, सुझाव र आवश्यकतालाई सम्बन्धित निकायसम्म पु¥याएर कृषि क्षेत्रको विकास, उत्पादन वृद्धि तथा उद्यम प्रवद्र्धनमा आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेको थियो।

स्थानीय कृषकहरूले सरकारी निकायका प्रमुखहरू प्रत्यक्ष रूपमा गाउँमै पुगेर समस्या सुन्न थालेपछि आफूहरू उत्साहित भएको बताएका छन्। कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि यस्ता अनुगमन र प्रत्यक्ष संवादले सकारात्मक परिणाम दिने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

सिटीजन फनिच्रर