newa srijana

विश्व दुग्ध दिवसका अवसरमा डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम

पोखरा । विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने भएको छ। “दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने राष्ट्रिय नारासहित कार्यक्रमहरू जेठ १२ गतेदेखि १८ गतेसम्म देशका विभिन्न स्थानमा सञ्चालन हुनेछन्।

यस वर्ष जुन १ मा विश्वभर २६औँ पटक मनाइने विश्व दुग्ध दिवसको अन्तर्राष्ट्रिय नारा “Celebrating Women Farmers” अर्थात् “महिला कृषकहरूको सम्मान” रहेको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठन (FAO) ले सन् २००१ मा यो दिवसको स्थापना गरेको हो। हाल विश्वका १०० भन्दा बढी देशमा यो दिवस मनाइँदै आएको छ।

कार्यक्रमअन्तर्गत जेठ १२ गते पोखरामा प्रेस मिट, जेठ १३ गते काठमाडौंमा विद्यालयस्तरीय कविता प्रतियोगिता, जेठ १४ गते काभ्रेमा उपभोक्ता सचेतना अभियान तथा जेठ १५ गते सातै प्रदेशमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिनेछन्। मुख्य राष्ट्रिय कार्यक्रम भने जेठ १८ गते ललितपुरमा राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा सम्पन्न हुने बताइएको छ।

World link net

विद्यालयस्तरीय कविता प्रतियोगिता जेठ १३ गते बिहान १०ः३० बजे काठमाडौं इङ्गलिस स्कुल, नक्सालमा आयोजना हुनेछ। महिला कृषकहरूको योगदानप्रति सम्मान जनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार नेपालमा दैनिक करिब ७६ लाख लिटर दूध उत्पादन हुने गर्दछ। त्यसमध्ये करिब ३१ लाख लिटर मात्र बजारमा आउने गरेको छ भने ठूलो हिस्सा अझै व्यवस्थित बजारसम्म पुग्न सकेको छैन। निजी डेरी क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ लगानी रहेको र करिब ६ लाख कृषक परिवार यस क्षेत्रमा आश्रित रहेको बताइएको छ। साथै, यस क्षेत्रबाट प्रत्यक्ष रूपमा करिब ५० हजारले रोजगारी पाएका छन्।

एसोसिएसनले विश्व दुग्ध दिवस सफल बनाउन शिक्षक, विद्यार्थी, साहित्यकार तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। साथै सरकार, निजी क्षेत्र, सहकारी संस्था र किसानबीचको सहकार्य अझ सुदृढ बनाउन सबै पक्षको साथ आवश्यक रहेको जनाएको छ।

सिटीजन फनिच्रर