newa srijana

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनमा जुम्लाका खेलाडीको वर्चस्व

महिलातर्फ मञ्जु रावत र पुरुषतर्फ दलबहादुर कुँवरलाई उपाधि

पोखरा। पदयात्राका लागि विश्वकै उत्कृष्ट १० पदमार्गमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा सम्पन्न छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन २०८३ मा जुम्लाका खेलाडीले वर्चस्व कायम गरेका छन्। महिलातर्फ मञ्जु रावत र पुरुषतर्फ दलबहादुर कुँवरले उपाधि जित्दै जुम्लालाई दोहोरो सफलता दिलाएका हुन्।

‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नारासहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीले बुधबार प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा महिलातर्फ शीर्ष तीन स्थान नै जुम्लाका धावकले कब्जा गरे। मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितिन्। राज्यलक्ष्मी रावल ६ घण्टा ५६ मिनेट २५ सेकेण्डसहित दोस्रो भइन् भने कल्पना बुढा ७ घण्टा ५६ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थानमा रहिन्।

पुरुषतर्फ दलबहादुर कुँवरले ४ घण्टा ४ मिनेट ११ सेकेण्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। पाँचौँ संस्करणमा ४ घण्टा ३३ मिनेट २१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थानमा रहेका दलबहादुरले यस पटक उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भए।

नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भए। अघिल्लो अर्थात् पाँचौँ संस्करणमा ४ घण्टा २४ मिनेट ४ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका सुनुवारले यस पटक आफ्नो समय १४ मिनेटले सुधार गरे पनि उपाधि जोगाउन भने सकेनन्।

घान्द्रुकका स्थानीय धावक सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो भए। अघिल्लो संस्करणमा ४ घण्टा २६ मिनेट ३ सेकेण्डको समय निकाल्दै पाँचौँ स्थानमा रहेका उनी यस पटक पोडियममा उक्लिन सफल भए। रोधीं क्लब घान्द्रुकका सदस्यसमेत रहेका गुरुङले लगातार ६ वर्षदेखिको मेहनतपछि तेस्रो स्थान हासिल गर्न सफल भएको बताए।

World link net

अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन ३ को अवसर पारेर आयोजना गरिएको म्याराथन अन्नपूर्ण क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन, अन्नपूर्ण आधार शिविर पदयात्रा मार्गको पूर्वाधार विकास तथा खेल पर्यटनको विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजक समितिका अध्यक्ष ललित गुरुङले बताए।

चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएको म्याराथन माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला र उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर सम्पन्न भएको थियो।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहान ७ बजे अन्नपूर्ण आधार शिविरबाट म्याराथनको सुरुवात गरेका थिए। प्रतियोगितामा ६ जना विदेशीसहित ५१ जना धावक सहभागी थिए।

महिला र पुरुष दुवै विधाका विजेताले एक लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ तथा तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरे। गाउँपालिका अध्यक्ष विष्णु केसी, पूर्वअध्यक्ष युवराज कुँवर तथा आयोजक समितिका अध्यक्ष ललित गुरुङले विजेतालाई पुरस्कार वितरण गरेका थिए।

अन्नपूर्ण म्याराथनको पहिलो संस्करणमा त्रिभुवन आर्मीका हरिकुमार रिमाल, दोस्रो संस्करणमा डोटीका खगेन्द्रबहादुर भाट, तेस्रो संस्करणमा जुम्लाका धीरबहादुर बुढा, चौथो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ र पाँचौँ संस्करणमा नेपाली सेनाका तिलकबहादुर सुनुवार पुरुषतर्फका विजेता बनेका थिए। महिलातर्फ तेस्रो संस्करणमा गणना भण्डारी, चौथोमा खोटाङकी निर्मला राई र पाँचौँ संस्करणमा नेपालकी अन्तर्राष्ट्रिय धाविका सुनमाया बुढाले उपाधि जितेका थिए।

यस वर्षको प्रतियोगितामा महिला र पुरुष दुवै विधाको उपाधि जुम्लाले जित्दै अन्नपूर्ण म्याराथनमा आफ्नो बलियो उपस्थितिपुनः स्थापित गरेको छ।

सिटीजन फनिच्रर