newa srijana

फेवातालमा तेस्रो खुला डुंगा दौड प्रतियोगिता : पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

पोखरा । पोखरामा सम्पन्न तेस्रो संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन मत्स्य सहकारी संस्था र महिलातर्फ पहारीघाटले उपाधि जितेका छन्।

पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाको टोली प्रथम भयो। टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोली दोस्रो स्थानमा रह्यो। कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूह तेस्रो हुँदा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गर्यो।

फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा भएको प्रतियोगिताको महिलातर्फ सोनी गुरुङ, दिलसुब्बा गुरुङ र सीता श्रेष्ठ सम्मिलित पहारीघाट टोली प्रथम भयो। त्यसैगरी उषा गुरुङ, निर्मला गुरुङ र अस्मिता मगर सम्मिलित तालपारी टोली दोस्रो, अन्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदीबहिनी समूह तेस्रो तथा कृष्णकुमारी कँडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना स्थान हासिल गर्यो।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ, तृतीयले १० हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त टोलीले ५ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। विजेता खेलाडीलाई आयोजक समितिका अध्यक्ष बलराम गिरी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, खेलकुद संयोजक बत्ति गुरुङ, आर्थिक समितिका संयोजक बुद्धिनाथ पाण्डेलगायतले पुरस्कार वितरण गरेका थिए।

यसअघि पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष भट्टराईले फेवातालको प्रचारप्रसार तथा पुराना डुंगाको महत्व उजागर गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए।

सिटीजन फनिच्रर

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा खेल पर्यटनको विकास र पर्यटन प्रवर्द्धनका लागि डुंगा दौड प्रतियोगिता कोशेढुंगा सावित भएको उल्लेख गरे।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले शुभकामना सन्देशमार्फत ‘इभेन्टहरूको सहर’ पोखराको पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यसको निरन्तरताका लागि नेपाल पर्यटन बोर्डको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

आयोजक संस्थाका अध्यक्ष बलराम गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालको प्रचारप्रसार गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संस्था विगतदेखि नै उक्त कार्यक्रम आयोजना गर्दै आएको बताए।

उनले फेवातालका पुराना डुंगाको आफ्नै ऐतिहासिक र सांस्कृतिक विशेषता रहेको उल्लेख गर्दै यसको संरक्षणमा सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

सञ्चारकर्मी दीपेन्द्र पहारी र आयोजक समितिका शिवरुद्र जिसीले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा समितिका बुद्धिनाथ पाण्डेले स्वागत मन्तव्यव्यक्त गरेका थिए।

 

Pokhara learners