पोखरा । गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्मार्ट डिस्प्ले बोर्ड स्थापना गरेको छ।
विमानस्थलको आगमन कक्षमा राखिएको उक्त बोर्डको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्नुभयो।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा शाखासँगको समन्वयमा स्थापना गरिएको बोर्डमार्फत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी उपलब्ध गराइनेछ।
पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई प्रदेशका विभिन्न पर्यटकीय स्थलको परिचय गराई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बोर्ड स्थापना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो। उहाँले बोर्ड स्थापना कार्यमा सहयोग पुर्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयकी निमित्त प्रमुख जसोदा सुवेदीसहितको टोलीप्रति आभार व्यक्त गर्नुभयो।
सङ्घकी महासचिव शोभा गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सङ्घले विगतमा पैरवी, रिले अनशन तथा विभिन्न अभियान सञ्चालन गरेको स्मरण गराउँदै पर्यटकीय राजधानी पोखरा तथा गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि नै स्मार्ट डिस्प्ले बोर्ड स्थापना गरिएको बताउनुभयो।




