पोखरा । पर्यटन राजधानी पोखराको सार्वजनिक यातायात प्रणालीलाई आधुनिक, प्रविधिमैत्री तथा वातावरणमैत्री बनाउन सरोकारवालाहरूले जोड दिएका छन्। पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) र आर्थिक आवाजको साझेदारीमा आयोजित ‘स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटी’ विषयक सार्वजनिक–निजी संवादका वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
विश्वव्यापी जलवायु परिवर्तन, वायु प्रदूषण र तीव्र सहरीकरणको चुनौती सामना गर्न पोखरामा हरित यातायातको विकास अपरिहार्य रहेको निष्कर्ष संवादले निकालेको छ।
संवादमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराको यातायात क्षेत्रलाई आमूल परिवर्तन गर्न महानगरले ठूलो वैदेशिक साझेदारी भित्र्याएको जानकारी दिनुभयो।
‘दिगो सहरी यातायात व्यवस्थापन र विद्युतीय सवारीसाधन (इ–मोबिलिटी) परियोजना सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) र ग्रीन क्लाइमेट फन्डको साझेदारीमा नेपाललाई १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण प्राप्त भएको छ। सो रकममध्ये पोखरामा मात्रै ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) लगानी हुनेछ,’ उहाँले भन्नुभयो।
पोखरालाई पर्यटन राजधानी घोषणा गरिएसँगै एडीबीले यस परियोजनालाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। उक्त परियोजनाअन्तर्गत विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन, चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायातको डिजिटलाइजेसन तथा व्यवस्थित बस स्टपलगायतका पूर्वाधार निर्माण गरिने योजना महानगरको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्मार्ट र सस्टेनेबल मोबिलिटीका लागि नारामा मात्र सीमित नभई सरकारले आजैदेखि ठोस तयारी थाल्नुपर्ने बताउनुभयो।
‘सरकारले ल्याएका नीतिमा सहकार्य गर्न निजी क्षेत्र तयार छ, लगानीका लागि पनि तयार छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सरकारले निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्नुपर्छ र नीतिगत अप्ठ्यारा हटाउनुपर्छ।’
यस्ता परियोजनामा दीर्घकालीन नीति आवश्यक रहेको उहाँको भनाइ थियो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले यातायात व्यवसायीहरू परम्परागत इन्धनबाट विद्युतीय तथा दिगो प्रणालीतर्फ रूपान्तरण हुन र लगानी थप्न तयार रहेको स्पष्ट पार्नुभयो। तर, यसका लागि सरकारले धरातलीय चुनौती र लगानीको सुरक्षालाई ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
‘व्यवसायीहरू सार्वजनिक यातायातमा ठूलो लगानी गर्न तयार छन्, तर त्यसका लागि सरकारले आवश्यक पूर्वाधार र चार्जिङ नेटवर्क बनाइदिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पर्यटकीय क्षेत्रमा विद्युतीय बस वा शटल सेवा सञ्चालन गर्न रुट परमिट, चार्जिङको उपलब्धता र लगानी सुरक्षा सबैभन्दा ठूला चुनौती हुन्।’

सार्वजनिक यातायातमा जीपीएस र सीसीटीभी जडान गरी डिजिटल टिकटिङ तथा सेवाको गुणस्तर सुधार्न व्यवसायीहरू सकारात्मक रहेको उहाँले बताउनुभयो।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का कार्यकारी निर्देशक गोविन्द भट्टराईले विश्वव्यापी रूपमा अटोमोबाइल उद्योग विद्युतीकरणतर्फ अघि बढे पनि नेपालको सडक पूर्वाधार र नीतिहरू अझै कमजोर रहेको औँल्याउनुभयो।
‘स्मार्ट मोबिलिटी र न्यू इनर्जी भेइकल एक–अर्काका परिपूरक हुन्। नेपालमा चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन र प्राविधिक जनशक्तिको ठूलो अभाव छ,’ उहाँले भन्नुभयो, ‘पोखरा आउने पर्यटकले कम कार्बन (शून्य उत्सर्जन) यातायात प्रयोग गर्ने वातावरण बनाउने हो भने नवीकरणीय ऊर्जासँग जोडिएको चार्जिङ प्रणाली र लामो दूरीका पर्यटकीय रुटमा बलियो चार्जिङ नेटवर्क बनाउन आजैदेखि स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै निजी क्षेत्रले ठोस कदम चाल्नुपर्छ।’
नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढे पनि त्यो निजी कारमा मात्र सीमित भएको र सार्वजनिक यातायातमा निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेको उहाँले बताउनुभयो। स्मार्ट मोबिलिटीको कुरा गरिए पनि धरातलमा सार्वजनिक यातायात क्षेत्रले धेरै समस्या र चुनौती भोगिरहेको उहाँको भनाइ थियो।
पर्यटकीय नगरी पोखरालाई दक्षिण एसियाकै हरित यातायात गन्तव्यका रूपमा ब्रान्डिङ गर्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा इ–मोबिलिटीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव वक्ताहरूले दिएका छन्।
संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोखराका सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्ने नीति ल्याएको छ। उक्त नीति सकारात्मक रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको वक्ताहरूले बताएका छन्। ब्याट्री व्यवस्थापन, रिसेल भ्यालु, सुरक्षित इभी, गुणस्तर तथा दक्ष मेकानिक्स र चालकबिना यो नीति तत्काल कार्यान्वयन गर्न कठिन हुने भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने उनीहरूको भनाइ थियो।
सरकारले पूर्वाधार विकास र नीतिगत समस्या समाधान गर्दै निजी क्षेत्रका लागि तत्काल लगानीमैत्री वातावरण तयार गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
संवादको सहजीकरण आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेलले गर्नुभएको थियो। संवादमा सरकार, निजी क्षेत्र, यातायात व्यवसायी, अटोमोबाइल क्षेत्र, विद्यार्थी, इन्जिनियरलगायत क्षेत्रका नेतृत्वकर्ताको सहभागिता रहेको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिनुभयो।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा नेपाल, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद् तथा पोखरा भिजिट इयरको सहकार्य रहेको थियो।
कार्यक्रमलाई सफल बनाउन ओमोडा एण्ड जेको, फोटोन, बिवाइडी, टिभिएस आइक्युब इलेक्ट्रिक, प्रतिभा सेकेन्डरी स्कुल, टियागो इभी, केइ, युनाइटेड लुब्रिकेन्ट्स, माछापुच्छ्रे बैंक, पोखरा फाइनान्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक, कामना सेवा विकास बैंक, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि, माउन्ट कैलाश रिसोर्ट, परिचय एडभरटाइजिङ तथा पब्लिक फोर के टेलिभिजनले सहयोग गरेका थिए।




