newa srijana

पोखरामा खेल सप्ताह आयोजना हुँदै, राष्ट्रियदेखि ग्रासरुट तहसम्मका खेल समावेश

पोखरा  । पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित यहीं जेठ ३० गतेदेखि ‘खेल सप्ताह’ आयोजना गर्ने लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । खेल सप्ताह आगामी असार ५ गते सम्म सञ्चालन हुनेछ ।

पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ग्रासरुट तहका प्रतियोगिता रहनेछन् । राष्ट्रिय स्तरमा मुवाथाई र साइकलिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस लगायतका खेल ग्रासरुट तहमा सञ्चालन गरिनेछन् ।

अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

समितिका सदस्य सचिव सुरज अधिकारीले खेल सप्ताहलाई सफल बनाउन तयारी तीव्र पारिएको जानकारी दिए । उनका अनुसार खेल सप्ताहको अवसरमा मार्सल आर्ट फेस्टिभलसहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछन् । तयारीका क्रममा मंगलबार बसेको बैठकले विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ । आवश्यक व्यवस्थापन, प्राविधिक समन्वय, खेल सञ्चालन तथा प्रचारप्रसारका कामलाई प्रभावकारी बनाउन समितिले तयारीलाई तीव्रता दिएको जनाएको छ।

सदस्य सचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो । यसले विविध खेल विधालाई प्रवर्द्धन गर्नुका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

खेल सप्ताहले पोखरामा खेल संस्कृतिको विकास, नयाँ प्रतिभाको खोजी तथा विभिन्न खेल संघ–संस्थाबीच समन्वय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समितिले लिएको छ । यसका अलावा राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेका छन् ।

Rabin photo