newa srijana

बेगनासतालमा छैटौँ डुंगा दौड प्रतियोगिता हुने

पोखरा । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा जेठ २७ गते लेखनाथस्थित बेगनासतालमा छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ।

पुरुष तथा महिलातर्फ सञ्चालन गरिने प्रतियोगितामार्फत बेगनासतालको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने, तालमा हुन सक्ने भवितव्य घटनाबारे सचेतना फैलाउने तथा खेलकुदमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।

बेगनासतालको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बेगनासताल डुंगा व्यवसायी समितिका अध्यक्ष नवराज बाँस्तोलाले बताए।

Mountain run pokhara click

उनका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटबाट पिप्लेटुँडासम्म करिब एक किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइनेछ।

सिटीजन फनिच्रर

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ, तृतीयले पाँच हजार रुपैयाँ तथा सान्त्वना हुने टोलीले तीन हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रबिराज कँडेलले जानकारी दिए।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ गरी २२ टोलीको सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रत्येक टोलीमा तीन जना डुंगा चालक रहनेछन्।

प्रतियोगिता सफल बनाउन समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरी तयारीलाई तीव्र पारिएको छ। प्रतियोगितामा सहभागी हुन टोली दर्ता निःशुल्क गरिएको छ भने जेठ २६ गते मङ्गलबार दिउँसो ३ बजेसम्म दर्ता गराउन सकिने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

Rabin photo