पोखरा । अन्नपूर्ण महिला सञ्जाल अन्नपूर्ण–२ को आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा महिला सुरक्षा, अधिकार, स्वास्थ्य तथा खुसी जीवनशैलीसम्बन्धी तीनदिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ।
अन्नपूर्ण गाउँपालिका–२ को सभाहलमा सञ्चालन गरिएको कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न टोल, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकासहित ७० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको पहिलो दिन जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायब निरीक्षक होतबहादुर रोका र प्रहरी हवल्दार गौतमकुमार हायुले महिलामाथि हुने अपराध, महिला सुरक्षा, अधिकार तथा साइबर अपराधसम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
त्यसैगरी दोस्रो दिन जीवन विज्ञान प्रतिष्ठानका जिल्ला संयोजक तथा योग प्रशिक्षक बासुदेव पौडेल र प्रशिक्षक विष्णुमाया पौडेलले दैनिक जीवनमा योग तथा ध्यानको महत्व, खुसी र सुखी हुने उपाय, सकारात्मक सोच, आत्मविश्वास तथा तनाव व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अन्तिम दिन पोषण तथा आहार परामर्शदाता श्रीविद्या रघुनाथन कायस्थ र परामर्शदाता प्रजिता पराजुलीले सन्तुलित आहार, स्वस्थ जीवनशैली, मनोसामाजिक स्वास्थ्य तथा मानसिक समस्यासम्बन्धी विषयमा सहजीकरण गरेका थिए।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आफू निर्वाचित भएपछि महिला सशक्तीकरण अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताए। महिलालाई सबै क्षेत्रमा सक्षम बनाउने उद्देश्यले गाउँपालिकाका ११ वटै वडामा महिला सञ्जाल गठन गरी विगत चार वर्षदेखि विभिन्न सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएको र अब त्यसको परिणाम मूल्याङ्कन गर्ने समय आएको उनले बताए।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी देवकोटाले महिला सञ्जालमार्फत प्रभावकारी तथा जीवनोपयोगी कार्यक्रम सञ्चालन भएको बताइन्। महिला सशक्तीकरणका लागि स्वस्थ, सुखी र खुसी जीवनशैली महत्वपूर्ण हुने उनको भनाइ थियो।
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्यद्वय भानुभक्त दाहाल र माया अधिकारी, पालिकास्तरीय महिला सञ्जालकी अध्यक्ष कमला केसी तथा ढिकुरपोखरी समाजका अध्यक्ष लक्ष्मी अधिकारीलगायतले तालिमबाट प्राप्त ज्ञान व्यवहारमा लागू गर्न र अरूलाई समेत सिकाउन आग्रह गरे।
सहभागीका तर्फबाट विष्णुमाया भण्डारी, लक्ष्मी भण्डारी र बविता देवकोटालगायतले छोटो समयमा धेरै ज्ञान हासिल भएको तथा तालिम उपलब्धिमूलक र फलदायी रहेको बताउँदै सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। सञ्जालकी कोषाध्यक्ष हरिमाया भण्डारीले कार्यक्रम सञ्चालनका क्रममा भएको खर्च विवरण प्रस्तुत गरेकी थिइन्।
सोही अवसरमा महिला स्वास्थ्य स्वयंसेविकाको समूहले जनचेतनामूलक गीत प्रस्तुत गरेको थियो।
अन्नपूर्ण महिला सञ्जाल अन्नपूर्ण–२ की अध्यक्ष सरला त्रिपाठी भण्डारीले महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन स्वास्थ्यको महत्वपूर्ण भूमिका रहने भएकाले फरक प्रकृतिको कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
सञ्जालकी अध्यक्ष सरला त्रिपाठी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत माया अधिकारीले गरेकी थिइन् भने सञ्चालन सचिव सीता शर्मा अधिकारी र सहसचिव सुशीला कार्की भण्डारीले गरेका थिए।




