newa srijana

गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक

आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक बजेटमा ६० प्रतिशतभन्दा बढी पूँजीगत खर्च छुट्याइयो, पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ‌ जुन कुल बजेटको ६०.६८ % हो।

चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ जुन कुल विनियोजनको ३८.५६ % हो। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। मन्त्री शेरचनले चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गरिने बताए।

World link net

बजेटका स्रोतअन्तर्गत सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारले आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ।

चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि २ अर्ब रुपैयाँ नगद मौज्दात रहने मन्त्री शेरचनले बताए। बजेट स्रोतमा न्यून हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालनमार्फत पूर्ति गरिनेछ।

सार्वजनिक वित्त तथा आर्थिक अनुशासन कायम गर्न प्रदेश सञ्चित कोषमा कम्तीमा १० करोड रुपैयाँ मौज्दात रहने व्यवस्था मिलाइएको छ। राजस्व परिचालन र सुधारका लागि विभिन्न नीतिहरू अवलम्बन गरिने बजेटमा उल्लेख छ। बजेटमा भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य तथा आर्थिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

सिटीजन फनिच्रर