newa srijana

लेकसाइडको श्रीकृष्ण मारवाडीलाई ५० हजार जरिवाना

पोखरा । जिल्ला अनुगमन समिति कास्कीले लेकसाइडस्थित श्रीकृष्ण मारवाडी रेष्टुरेन्टलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

अनुगमनका क्रममा रेष्टुरेन्टको भान्छा सरसफाइ नभएको, व्यवसाय नवीकरण नगरेको तथा मदिरा बिक्रीको अनुमति नलिई मदिरा बिक्री वितरण गरेको भेटिएपछि उक्त जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।

उपभोक्ताको गुनासोपछि अनुगमनका लागि पुगेको टोलीले आइतबार उक्त रेष्टुरेन्ट बन्द गराएको थियो। सरसफाइपछि सोमबारदेखि सञ्चालनयोग्य भएको भन्दै नियमित सञ्चालनको अनुमति दिइएको छ।

रेष्टुरेन्टका सञ्चालक लालबाबु साहलाई ७ दिनभित्र व्यवसायसम्बन्धी सम्पूर्ण कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सिटीजन फनिच्रर

त्यसैगरी सोमबार बिहान रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्यान्टिनमा गरिएको अनुगमनका क्रममा सरसफाइमा कमी रहेको तथा तारेका खाद्य पदार्थ छरपस्ट अवस्थामा रहेको भेटिएपछि उक्त क्यान्टिनका सञ्चालक उजित खड्कालाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ।

सोमबार नै पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका दुई क्यान्टिनमा गरिएको अनुगमनका क्रममा गुणस्तरहीन खाद्य पदार्थ भेटिएपछि नष्ट गरिएको छ।

उक्त अस्पतालको भुइँतलास्थित क्यान्टिनमा अनुगमन गर्दा ब्याच नम्बर, उत्पादन मिति तथा उपभोग्य मिति नभएका खाद्य सामग्री भेटिएकाले ती सामग्री नष्ट गरिएको हो। साथै भान्छासमेत सरसफाइ नभएको पाइएकाले क्यान्टिनका सञ्चालक सुदीप सिग्देललाई एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

त्यसैगरी मणिपाल अस्पतालकै सर्वगुण फुड्स एण्ड किचनमा गरिएको अनुगमनका क्रममा उपभोग्य मिति, उत्पादन मिति तथा लेबल नभएका ४७ पिस बेकरी सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले बताए। सो किचनका सञ्चालक सन्तोष बास्तोलालाई कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कास्की, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, पोखरा महानगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

Pokhara learners