पोखरा। म्याग्दीको भगवती युवा क्लब राखु भगवतीले पोखरामा खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा सञ्चालन हुने ‘सुलभ प्रिजेन्ट्स ३×३ खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता’ मा पुरुषतर्फ १५ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहने क्लबले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। प्रतियोगितामा कास्की, तनहुँ, म्याग्दी, पर्वत र काठमाडौंलगायत विभिन्न जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको पुरुषतर्फ विजेताले ४२ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। महिलातर्फ विजेताले २५ हजार २ सय २२ रुपैयाँ तथा उपविजेताले १५ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताले विभिन्न जिल्लाका खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै बास्केटबल खेलको विकास र प्रवर्द्धनमा टेवा पुग्ने प्रतियोगिता संयोजक सुलभ मल्लले बताए। प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए।
क्लबका अनुसार युवाबीच खेलकुदमार्फत आपसी भाइचारा, अनुशासन र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय म्याग्दीस्थित क्लबले पहिलो पटक जिल्ला बाहिर खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।




