newa srijana

यातायात व्यवस्था कार्यालय सवारी कास्कीद्वारा रु १ अर्ब ४७ करोडभन्दा बढी राजस्व संकलन

अघिल्लो आर्थिक वर्षको तुलनामा रु ३६ लाख ४९ हजार ९ सय १९ ले वृद्धि, सवारी दर्ता, नवीकरण, नामसारी र रुट इजाजतलगायत सेवाबाट आम्दानी

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले आर्थिक वर्ष २०८२/८३ मा रु १ अर्ब ४७ करोड ४७ लाख ३५ हजार ५ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा रु ३६ लाख ४९ हजार ९ सय १९ ले बढी हो।

कार्यालय प्रमुख ढाका प्रसाद शर्माका अनुसार सवारी दर्ता, नवीकरण, नामसारी, रुट इजाजतपत्र, जाँचपास तथा अन्य सेवा प्रवाहबाट उक्त राजस्व संकलन भएको हो।

सिटीजन फनिच्रर

प्रदेश सरकार गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको कार्यालयगत राजस्व विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु १ अर्ब ४७ करोड १० लाख ८५ हजार ६ सय ७५ राजस्व संकलन गरेको थियो। चालु आर्थिक वर्षमा राजस्व संकलन सोही अवधिको तुलनामा वृद्धि भएको विवरणमा उल्लेख छ।

प्रमुख शर्माले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन कार्यालयले निरन्तर सुधारका कार्यक्रम सञ्चालन गरिरहेको बताए। आगामी दिनमा सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाइने उल्लेख गर्दै उनले सेवाग्राहीलाई समयमै राजस्व बुझाई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरे।

कार्यालयले यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई सहज र प्रभावकारी तुल्याउने तथा राजस्व संकलनमा वृद्धि गर्ने उद्देश्यका साथ विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Pokhara learners