पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२’ को २३औँ संस्करण भदौ १८ गते आयोजना हुने भएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मञ्चले अवार्ड नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’मा आयोजना हुने घोषणा गरेको हो।
अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएको छ। गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग आबद्ध भएको हो। यसअघि दुई पक्षबीच पाँच वर्षका लागि भएको सम्झौताको दोस्रो वर्ष जारी छ।
सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे।
हस्ताक्षरपछि निर्देशक गोल्छाले १९ वर्षदेखि मञ्चसँग सहकार्य गर्न पाउँदा गर्व लागेको बताउँदै नेपाली खेलकुदको स्तरवृद्धिका लागि आफ्नो समूह निरन्तर प्रतिबद्ध रहेको बताए।
मञ्चका अध्यक्ष अधिकारीले गोल्छा ग्रुपसँगको निरन्तर सहकार्यले अवार्डलाई थप व्यवस्थित र निरन्तर बनाउन सहयोग पुगेको बताउँदै धन्यवाद व्यक्त गरे।

मञ्चका महासचिव अञ्जन खड्काले यस वर्ष नौ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए। ती विधामा वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्।
उनले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस विधाको मनोनयन केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए। मनोनयनका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ। प्रत्येक विधामा पाँच–पाँच जना मनोनयनमा पर्ने व्यवस्था छ।
लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट सम्मान तथा एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेताको घोषणा भने अवार्डकै दिन गरिनेछ। पिपल्स च्वाइस विधाको विजेता भोटिङमार्फत छनोट हुने भएकाले त्यसको मनोनयन पनि छिट्टै सार्वजनिक गरिने महासचिव खड्काले बताए।
वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक तथा पिपल्स च्वाइस विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानितलाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।
अवार्डलाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। साथै कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमिति पनि गठन गरिएको मञ्चले जनाएको छ।
गत वर्ष वर्षका उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्र सिंह ऐरी, उत्कृष्ट महिला खेलाडीमा करातेकी एरिका गुरुङ, उत्कृष्ट युवा खेलाडीमा क्रिकेटकी पूजा महतो तथा उत्कृष्ट प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा सम्मानित भएका थिए। पिपल्स च्वाइस अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए।
त्यस्तै, स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसीकुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन तथा लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाट सम्मानित भएका थिए।




