पोखरा । फेवातालमा पर्यटक तथा सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा चालकमाथि गरिएको मादक पदार्थ (मापसे) र लागूपदार्थ (लापसे) परीक्षणमा तीन जनाले गाँजा सेवन गरेको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा पोखरा महानगरपालिका–६, बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३२ जना डुङ्गा चालकको मापसे तथा लापसे परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा तीन जना डुङ्गा चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार पर्यटक तथा सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राख्दै फेवाताललगायत पर्यटकीय क्षेत्रमा यस्ता निगरानी तथा चेकजाँच अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।




