newa srijana

मिसन २०८४ सफल बनाउन जनसंगठन परिचालन गर्न खगराज अधिकारीको जोड

नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले आगामी राजनीतिक लक्ष्य ‘मिसन २०८४’ सफल बनाउन जनसंगठनहरूलाई परिणाममुखी, जनमुखी र योजनाबद्ध रूपमा परिचालन गर्नुपर्नेमा जोड

पोखरा ।

नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज खगराज अधिकारीले आगामी राजनीतिक लक्ष्य ‘मिसन २०८४’ सफल बनाउन जनसंगठनहरूलाई परिणाममुखी, जनमुखी र योजनाबद्ध रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार पोखरामा सम्पन्न नेकपा (एमाले) गण्डकी प्रदेश जनसंगठन समन्वय संयन्त्रको बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अधिकारीले जनसंगठन पार्टी र जनताबीचको सबैभन्दा महत्वपूर्ण सेतु भएको उल्लेख गर्दै पार्टीका नीति, विचार तथा विकासका एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउने जिम्मेवारी जनसंगठनकै काँधमा रहेको बताए । उनले संगठन बलियो भए मात्रै पार्टीको जनाधार विस्तार हुने र जनविश्वास अझ मजबुत बन्ने उल्लेख गर्दै जनसंगठनहरूलाई जनताको घरदैलोमा पुगेर सुख–दुःखमा सहभागी हुन, जनअपेक्षालाई पार्टीसम्म पुर्‍याउन तथा पार्टीका अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे ।

अधिकारीले ‘मिसन २०८४’ केवल निर्वाचन जित्ने अभियान मात्र नभई जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अभियान भएको उल्लेख गर्दै प्रत्येक जनसंगठनले आफ्नो जिम्मेवारीलाई नतिजामुखी ढंगले पूरा गर्नुपर्ने बताए । समाजका विभिन्न वर्ग, समुदाय, युवा, महिला, किसान, मजदुर, विद्यार्थी, कर्मचारी तथा पेशागत क्षेत्रसँग जनसंगठनको सम्बन्ध विस्तार गर्दै संगठनलाई थप सक्रिय बनाउनु पर्नेमा पनि उनले जोड दिए ।

जनसंगठन समन्वय संयन्त्रका अध्यक्ष तथा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मीनबहादुर गुरुङ, प्रदेश पदाधिकारी तथा प्रदेशका २३ वटा जनसंगठनका अध्यक्ष र इन्चार्जहरूको सहभागिता रहेको थियो ।

सिटीजन फनिच्रर

बैठकमा प्रदेश अध्यक्ष नवराज शर्माले जनसंगठनबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै संगठन विस्तार, सदस्यता वृद्धि, नियमित प्रशिक्षण तथा जनपरिचालनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । संगठन बलियो भए मात्रै पार्टी बलियो हुने उल्लेख गर्दै उनले प्रत्येक जनसंगठनले जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी स्थानीय तहसम्म पार्टीका अभियानलाई प्रभावकारी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

बैठकमा प्रदेशभरका जनसंगठनहरूको संगठनात्मक अवस्था, सदस्यता विस्तार, प्रशिक्षण, जनपरिचालन, आर्थिक तथा प्रशासनिक व्यवस्थापन तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो । सहभागीहरूले संगठनलाई अझ चलायमान बनाउने, जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तारलाई तीव्रता दिने, नियमित वैचारिक प्रशिक्षण सञ्चालन गर्ने तथा जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

बैठकले संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले सबै जनसंगठनलाई आफ्नो संगठनात्मक प्रतिवेदन प्रदेश समन्वय संयन्त्रमा बुझाउने, प्रदेश तथा जिल्ला तहका सबै जनसंगठनका बैठक आगामी भदौ महिनाभित्र सम्पन्न गर्ने, तथा मंसिर मसान्तसम्म सबै जनसंगठनको प्रदेश भेला आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, सबै जनसंगठनमा लेखापरीक्षण (अडिट) सम्पन्न गर्ने, सदस्यताको यकिन गरी विवरण अद्यावधिक गर्ने तथा सम्पूर्ण संगठनात्मक अभिलेख व्यवस्थित रूपमा राख्ने निर्णय  गरेको छ । संगठनको तथ्यांक, सदस्यता विवरण र आर्थिक अभिलेखलाई अद्यावधिक गर्दै संगठनलाई थप संस्थागत बनाउने, ‘मिसन २०८४’ सफल बनाउन प्रदेशभरका जनसंगठनलाई योजनाबद्ध रूपमा परिचालन गर्ने, संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउने, नियमित प्रशिक्षण सञ्चालन गर्ने, जनसरोकारका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै पार्टीको संगठनात्मक आधारलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता समेत बैठकले गरेको छ ।

Pokhara learners