newa srijana

नेपालमा भिदा विद्युतीय स्कुटरको बिक्री सुरु

हिरो मोटोकर्पले नेपालबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुआत VX2 EVO स्कुटर र VIDA Dirt अफ–रोड बाइक सार्वजनिक

पोखरा । भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो विद्युतीय सवारी ब्रान्ड भिदा (VIDA) को नेपालमा औपचारिक बिक्री सुरु गरेको छ। भारतबाहिर पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपाललाई छनोट गर्दै कम्पनीले VIDA VX2 EVO विद्युतीय स्कुटर सिरिज र युवा लक्षित VIDA Dirt विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको हो।

नेपालमा भिदा ब्रान्डका विद्युतीय सवारीको आधिकारिक बिक्री–वितरण चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स ले गर्ने भएको छ। हिरो मोटोकर्पले नेपालबाटै आफ्नो विद्युतीय ब्रान्डको अन्तर्राष्ट्रिय विस्तार सुरु गरेको जनाएको छ।

सार्वजनिक गरिएका VIDA VX2 EVO स्कुटरमा निकाल्न मिल्ने ब्याट्री, फास्ट चार्जिङ, घरमै प्रयोग हुने पाँच एम्पियरको सामान्य विद्युत् सकेटबाट चार्ज गर्न सकिने सुविधा, नेभिगेसन, जियो–फेन्सिङ तथा ओभर–द–एयर (OTA) सफ्टवेयर अपडेटजस्ता अत्याधुनिक स्मार्ट फिचर समावेश गरिएको छ।

यस्तै‌ किशोर तथा युवा राइडरलाई लक्षित गर्दै कम्पनीले VIDA Dirt विद्युतीय अफ–रोड मोटरसाइकल पनि सार्वजनिक गरेको छ। प्रयोगकर्ताको उमेर र शारीरिक बनावटअनुसार समायोजन गर्न सकिने उक्त मोटरसाइकल मोबाइल एपमार्फत नियन्त्रण गर्न सकिने सुविधायुक्त छ। यसमा तीनवटा स्पिड मोड उपलब्ध छन् भने एकपटकको चार्जमा प्रयोगको अवस्थाअनुसार करिब तीन घण्टासम्म सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ।

सिटीजन फनिच्रर

हिरो मोटोकर्पको इमर्जिङ मोबिलिटी शाखाकी प्रमुख व्यवसाय अधिकृत कौशल्या नन्दकुमार ले नेपालबाट भिदा ब्रान्डको अन्तर्राष्ट्रिय यात्रा सुरु हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताइन्। नेपाल विद्युतीय सवारीका लागि उच्च सम्भावना बोकेको बजार भएकाले भारतीय प्रविधिमा आधारित आधुनिक उत्पादन नेपाली उपभोक्तामाझ ल्याइएको उनले उल्लेख गरिन्।

नेपाल हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको अवस्थामा भिदा ब्रान्डको आगमनले विद्युतीय दुईपांग्रे सवारी बजारलाई थप गति दिने चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वास व्यक्त गरे। गुणस्तरीय, स्मार्ट र वातावरणमैत्री सवारी नेपाली बजारमा उपलब्ध गराउने उद्देश्यका साथ हिरो मोटोकर्पसँगको सहकार्यलाई अघि बढाइएको उनले बताए।

हिरो मोटोकर्प सन् २०१४ देखि नेपाली बजारमा सक्रिय छ। पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय सवारी क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। भिदा ब्रान्डमार्फत स्मार्ट, दिगो र वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने रणनीतिअनुसार नेपालबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुआत गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सार्वजनिक गरिएका स्कुटर तथा मोटरसाइकलको रेन्ज, गति तथा चार्जिङ समय आन्तरिक परीक्षणका आधारमा निर्धारण गरिएको हो। वास्तविक प्रयोगमा भने सडकको अवस्था, मौसम तथा सञ्चालन शैलीअनुसार ती विवरण फरक हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।

Pokhara learners