पोखरा । नेपालको वेलनेस तथा स्पा क्षेत्रमा ट्रन्क्यूलिटी स्पा प्रालिले नयाँ उपलब्धि हासिल गरेको छ। कम्पनीले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्दै नेपालकै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्रान्ड बनेको जनाएको छ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) ले प्रदान गरेको हो। यूआरएस युकेएएस (UKAS) र आईएएफ (IAF) बाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणीकरण निकाय हो। प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाले प्रदान गर्ने वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रियस्तरको गुणस्तर व्यवस्थापन प्रणाली लागू भएको पुष्टि गरेको कम्पनीको दाबी छ।
प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिसलगायतका सेवा समेटिएका छन्। कम्पनीका अनुसार यसले सेवा सञ्चालन प्रणाली, सरसफाइ, सुरक्षा तथा ग्राहक सेवाको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको सुनिश्चित गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन फैजु ले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र कम्पनीका लागि उपलब्धि मात्र नभई ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखाबाट सेवा लिने ग्राहकले समानस्तरको सेवा, सरसफाइ र व्यावसायिक हेरचाहको अनुभव प्राप्त गर्नेछन्।

प्रमुख सञ्चालन अधिकृत (सीओओ) रनिल फैजु ले यो प्रमाणपत्र कम्पनीले वर्षौंदेखि अवलम्बन गर्दै आएको गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मान्यता भएको बताए। उनले सेवा गुणस्तर, सरसफाइ र निरन्तर सुधारलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
करिब १८ वर्षअघि काठमाडौंको लाजिम्पाटबाट सेवा सुरु गरेको ट्रन्क्यूलिटी स्पाले हाल काठमाडौं, पोखरा, चितवन, भैरहवा तथा मलेसियाका विभिन्न प्रतिष्ठित होटलसँगको सहकार्यमा सेवा सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीमा हाल ३०० भन्दा बढीले रोजगारी पाएका छन्।
कम्पनीअन्तर्गत सञ्चालित ट्रन्क्यूलिटी इन्टरनेशनल ब्यूटी एन्ड स्पा एकेडेमी मार्फत हालसम्म ३ हजार ५ सयभन्दा बढी व्यक्तिले वेलनेस तथा स्पासम्बन्धी व्यावसायिक तालिम प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।
कम्पनीले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्तिसँगै अन्तर्राष्ट्रिय गुणस्तरअनुसार सुरक्षित, व्यवस्थित र विश्वसनीय वेलनेस सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ।




