पोखरा । जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं रुटका लागि दुईवटा नयाँ लग्जरी बस थप गरेको छ। २९ सिट क्षमताका यी बस श्रावण १८ गतेदेखि नियमित सेवामा आउने भएका छन्।
‘ZDexi Thirest Luxury Sofa Bus’ नाम दिइएका नयाँ बसमा सोफा सिटर, आरामदायी सिट, वातानुकूलित (एसी) तथा हिटर, मोबाइल चार्जिङ पोर्ट, निःशुल्क वाइफाइ, शौचालय, चिया–कफी, कुकीज र पिउने पानीलगायतका सुविधा उपलब्ध छन्।
लामो दूरीको यात्रालाई सहज बनाउने उद्देश्यले बसमा यी सुविधा समावेश गरिएको जगदम्बा ट्राभल्सका सञ्चालक केशव प्रसाद अधिकारीले बताए। उनका अनुसार एउटा नयाँ बसको लागत १ करोड ६० लाख रुपैयाँ रहेको छ।

नयाँ बस सञ्चालनमा आए पनि भाडादर भने यथावत् राखिएको छ। रिसोर्टमा भोजन, चिया, कफी र ब्रेकफास्टसहित यात्रा गर्ने यात्रुका लागि दुई हजार एकसय रुपैयाँ तथा भोजन नलिने यात्रुका लागि एक हजार सातसय रुपैयाँ भाडा कायम गरिएको छ।

पोखरा र काठमाडौंको बालाजुबाट बस बिहान ७ बजे छुट्ने तालिका रहेको अधिकारीले जानकारी दिए।
जगदम्बा ट्राभल्सका बस सुनौली, विराटनगर, नेपालगञ्ज, बनेपा–विराटनगर, धनगढी, वीरगञ्ज, काँकडभिट्टा, काठमाडौं तथा बागलुङलगायतका लामो दूरीका रुटमा सञ्चालनमा रहेका छन्। कम्पनीले विद्युतीय (ईभी) बससमेत सञ्चालन गरिरहेको छ।
अधिकारीले भदौ १५ गतेदेखि पोखरा–विराटनगर रुटमा पनि नयाँ बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार युरोपेली मुलुकमा प्रचलित ‘क्याराभान बस’ नेपाल भित्र्याउने तयारी भइरहेको छ। दशैं–तिहारको बीचमा सञ्चालन गर्ने लक्ष्य राखिएको उक्त बसमा बस्ने, सुत्ने तथा खाना पकाउने सुविधा रहनेछ।

हाल जगदम्बा ट्राभल्सका ३२ वटा बस नेपालका विभिन्न रुटसँगै भारतको दिल्लीसम्म सञ्चालनमा रहेको अधिकारीले जानकारी दिए।
कम्पनी अध्यक्ष हरिमाया अधिकारीले नयाँ बसमा यात्रा गर्दै सेवाको शुभारम्भ गरेकी थिइन्।




