newa srijana

संघीयताबारे जनप्रिय क्याम्पसका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाको अभ्यासबारे अभिमुखीकरण गरेको छ। युवा लक्षित संसदीय पहुँच कार्यक्रमअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १०८ विद्यार्थी सहभागी थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानुनतर्फका उपसचिव आमोद दाहालले नेपालको संघीय शासन व्यवस्था, प्रदेशको क्षेत्राधिकार तथा प्रदेशसभाको संरचना र कामकारबाहीबारे सहजीकरण गरे। उनले नेपालमा तीन तहको संघीय शासन प्रणाली अभ्यासमा रहेको र संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरेको जानकारी दिए। शक्ति विकेन्द्रीकरणमार्फत विविधतालाई सम्बोधन गर्न संघीय शासन प्रणाली प्रभावकारी हुने उनको भनाइ थियो।

दाहालले गण्डकी प्रदेशमा ११ जिल्ला र ३६ निर्वाचन क्षेत्र रहेको तथा प्रदेशसभामा ६० सदस्य रहने व्यवस्था रहेको बताए। उनका अनुसार ३६ जना प्रत्यक्ष निर्वाचन र २४ जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्। हाल प्रदेशसभामा २३ जना आदिवासी जनजाति, ३१ जना खस आर्य र ६ जना दलित समुदायको प्रतिनिधित्व रहेको उनले जानकारी दिए।

सिटीजन फनिच्रर

कक्षा १२ को सामाजिक अध्ययन विषयमा समेटिएका संघीयता र नेपालको शासन व्यवस्थासम्बन्धी विषय बुझ्न कार्यक्रम उपयोगी भएको जनप्रिय बहुमुखी क्याम्पसका प्लस टु संयोजक मदनकुमार जैसीले बताए। उपप्राध्यापक वेदहरि तिमल्सिनाले विद्यार्थीमा राजनीतिक तथा संवैधानिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरे।

मञ्चका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले विद्यार्थीलाई संघीयता र प्रदेशसभाको संरचनाबारे व्यावहारिक जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा प्रदेशसभाले निर्माण गरेका कानुन, आर्थिक कार्यविधि तथा प्रदेशका अधिकार सूचीबारे पनि जानकारी गराइएको थियो। सहभागी विद्यार्थी विनीता क्षेत्री र मन्दिप पोखरेलले संवैधानिक व्यवस्था तथा मौलिक हकसम्बन्धी जिज्ञासा राखेका थिए।

कार्यक्रममा संसदीय पत्रकार मञ्चका संस्थापक अध्यक्ष लालप्रसाद शर्मा, सल्लाहकार केशवशरण लामिछाने, सहसचिव उमा आले मगर, कोषाध्यक्ष ऋषिराम बराल तथा अन्य पदाधिकारी, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो।

Pokhara learners