पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औं महाधिवेशनअन्तर्गत आइतबार भएको मतदानपछि मतगणना सुरु भएको छ। मतदानमा पदाधिकारीतर्फ २ हजार २ सय ७४ र सदस्यतर्फ २ हजार १ सय ८ मत खसेको छ। संघमा २ हजार ७ सय ३१ मतदाता छन्।
अध्यक्ष पदमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम प्रतिस्पर्धामा छन्। बलराम आचार्य र शोभा गौतमको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छन्। अर्जुन पोखरेल र उत्तममान बुद्धाचार्यले अध्यक्ष पदमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेका छन्।

बलराम आचार्यको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला, उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानांग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्सन प्रजु उम्मेदवार छन्। शोभा गौतमको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ उम्मेदवार छन्।
पमहासचिव पदमा रामचन्द्र तिमिल्सिना स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्। खुला सदस्यतर्फ १० पदका लागि १३ जना उम्मेदवार छन्।
मतगणना जारी रहेकाले अध्यक्ष, पदाधिकारी र सदस्य पदको नतिजा आउने क्रम रहेको छ।




