पोखरा । करिब २६ वर्षअघि पोखराको गैह्रापाटनमा सानो चिया पसलबाट व्यवसायिक यात्रा सुरु गरेकी शोभा गौतम अहिले पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष बनेकी छन्। संघको ७२ वर्षे इतिहासमा उनी पहिलो महिला अध्यक्ष बनेकी हुन्।
कास्कीकोटमा जन्मिएकी गौतमले १६ वर्षकै उमेरमा विवाह गरेकी थिइन्। श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला छोरालाई गर्भमै राखेर उनले व्यवसाय सुरु गरेकी हुन्। चिया पसल सञ्चालन गर्दाका क्रममा उनले सामाजिक चुनौतीसमेत सामना गर्नुपरेको थियो।
चिया पसलपछि करिब ६० हजार रुपैयाँ लगानीमा उनले पुष्पाञ्जली हर्बल ब्युटी पार्लर सञ्चालन गरिन्। त्यसबेला ब्युटिसियन पेसाप्रति समाजको धारणा सहज थिएन। चुनौतीका बीच उनले व्यवसायलाई निरन्तरता दिइन्।
व्यवसाय विस्तार गर्दै उनले पुष्पाञ्जली फेसन एन्ड इभेन्ट र सफल एड्भर्टाइजिङ कम्पनी सञ्चालन गरिन्। लुब्रिकेन्ट रेस्टुरेन्ट कृषि तथा ग्रोसरीलगायतका क्षेत्रमा पनि उनको व्यवसायिक संलग्नता रहेको छ। व्यवसायसँगै महिला नेतृत्व विकास क्षमता अभिवृद्धि र सामाजिक सेवाका क्षेत्रमा समेत उनी सक्रिय रहँदै आएकी छन्।
रोकिएको अध्ययनलाई पनि उनले निरन्तरता दिइन्। उनले कानुन संकायमा स्नातक तह पूरा गरेकी छन्।

२०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य बनेर उनको संस्थागत यात्रा सुरु भएको थियो। त्यसपछि कार्यसमिति सदस्य उपमहासचिव हुँदै महासचिवको जिम्मेवारी सम्हालिन्। कार्यसमिति सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएको अनुभव पनि उनीसँग छ।
संघमा रहेर काम गर्दा उद्योगी तथा व्यवसायीका समस्या र चुनौती बुझ्ने अवसर पाएकी गौतमले यसपटक अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिइन्। ३६औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै उनी संघको पहिलो महिला अध्यक्ष बनेकी हुन्।
सुदृढ संघ सक्षम नेतृत्व भन्ने नारासहित अध्यक्ष पदमा उम्मेदवारी दिएकी गौतमले कृषि तथा पर्यटन प्रवर्द्धन युवा तथा महिला उद्यमशीलता वित्तीय साक्षरता र सीप विकासलाई प्राथमिकतामा राखेकी छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन र मेड इन पोखरा अभियानलाई पनि उनले प्राथमिकतामा राखेकी छन्।
संघमा आफूले पाएका हरेक जिम्मेवारीलाई व्यवसायीको सेवा गर्ने अवसरका रूपमा लिएको गौतमले बताइन्। सबै व्यवसायीलाई साथमा लिएर संघलाई बलियो पारदर्शी र परिणाममुखी बनाउने उनको भनाइ छ।
गैह्रापाटनको चिया पसलबाट सुरु भएको गौतमको व्यवसायिक यात्रा अहिले पोखरा उद्योग वाणिज्य संघको नेतृत्वसम्म पुगेको छ। संघको नेतृत्वमा पहिलोपटक महिला पुगेपछि उनको कार्यकाललाई महिला नेतृत्वका दृष्टिले पनि महत्त्वका साथ हेरिएको छ।




