पोखरा । अन्नपूर्ण गाउँपालिका वडानं ७ ले पोखरा–१, सिमपानीस्थित तान्चोक नौजे पंगीलामा गुरुङ समाजघरमा सञ्चालन गरेको तीनदिने एकीकृत घुम्ती सेवा शिविरबाट ४ सय ४२ वटा सेवा प्रदान गरी १ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
भदौ २२ देखि २४ गतेसम्म सञ्चालन भएको शिविरमा १ सय ७५ वटा भूमि (मालपोत) करसम्बन्धी सेवा, २ सय ५६ वटा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र ११ वटा विभिन्न सिफारिस सेवा प्रदान गरेको छ । नागरिकताको प्रतिलिपि, नाता प्रमाणित, वार्षिक आम्दानी प्रमाणित, विवाहित प्रमाणित लगायतका सिफारिस सेवा पनि शिविरबाटै उपलब्ध गराएका थिए ।

विशेषगरी ज्येष्ठ नागरिक, विपन्न, अपाङ्गता भएका, एकल तथा अशक्त नागरिकलाई सहज सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको थिय । अन्नपूर्ण–७ का सेवाग्राहीसँगै वडा नं. ६ का केही नागरिकले पनि शिविरबाट सेवा लिएका थिए।
शिविर सेवा प्रवाहमा मात्र सीमित रहेन पोखरामा बसोबास गर्दै आएका कतिपय ज्येष्ठ नागरिकले वर्षौँपछि बाल्यकालका साथी, आफन्त र पुराना चिनजानका व्यक्तिसँग भेट्ने अवसर पाए । सेवा लिन पुगेको ठाउँ नै पुराना सम्बन्ध र सम्झना जोड्ने चौतारी बन्यो ।

अन्नपूर्ण गाउँपालिका वडानं ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले नागरिकलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउन घुम्ती शिविर प्रभावकारी बनेको बताए ।
नागरिकलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्दै सेवा नै नागरिकको नजिक पुर्याउने हाम्रो उद्देश्य हो । यसबाट समय, खर्च र झन्झट कम हुनुका साथै स्थानीय सरकारप्रतिको अपनत्व पनि बढ्छ गुरुङले भने ।

त्यस्तै, वडा सचिव बुलन्दा बहादुर भण्डारीले सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखेर शिविर सञ्चालन गरिएको ज्येष्ठ, विपन्न, अपाङ्गता भएका, एकल तथा अशक्त नागरिकले सहज रूपमा सेवा पाऊन् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । एउटै स्थानबाट धेरै सेवा उपलब्ध गराउँदा नागरिकलाई निकै सहज भएको छ ।
अन्नपूर्ण गाउँपालिकाका वडा नं. ३, ९, ११ लगायतका वडाले पनि विभिन्न समयमा यस्ता एकीकृत घुम्ती सेवा सञ्चालन गर्दै आएका छन् । वडा कार्यालयले नागरिकको आवश्यकता र सहजतालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




