पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा जन्मिएका विनोदबहादुर कुँवरले निजामती सेवाको यात्रा मुखियाबाट सुरु गरे । चार दशकअघि जिल्ला शिक्षा कार्यालय लमजुङको एउटा सामान्य कर्मचारीका रूपमा सेवामा प्रवेश गरेका उनी अहिले निजामती सेवाको विशिष्ट श्रेणीसम्म पुगेका छन् ।
२०४६ माघ ३ गते राजपत्र अनंकित तृतीय श्रेणीको मुखियाका रूपमा सरकारी सेवामा प्रवेश गरेका कुँवरको यात्रा त्यहीँ रोकिएन । उनले खरिदारको लिखित परीक्षा उत्तीर्ण गरे तर त्यही समयमा लेखापाल पदमा सिफारिस भइसकेकाले खरिदारको अन्तर्वार्तामा सहभागी हुनुपरेन ।
२०५२ सालमा लेखापाल बनेपछि उनको सेवायात्राले क्रमशः गति लियो । २०५५ जेठ १९ गते शाखा अधिकृत, २०६६ वैशाख ९ गते उपसचिव र २०७१ फागुन १२ गते सहसचिव भए त्यसपछि सचिवमा बढुवा हुँदै उनी निजामती सेवाको विशिष्ट श्रेणीमा पुगेका हुन् ।
कुँवरको यो यात्राको अर्को उल्लेखनीय पक्ष हो लोक सेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षाबाट तहतह पार गर्दै अघि बढ्नु । निजामती सेवामा प्रवेश गरेको प्रारम्भिक पददेखि माथिल्लो तहसम्म उनले प्रतिस्पर्धा र परीक्षा मार्फत आफ्नो बाटो बनाउँदै लगे ।

सरकारी सेवामा प्रवेश गर्दा उनले जुन पदबाट यात्रा थालेका थिए, आज त्यसको तुलनामा जिम्मेवारी र हैसियत निकै माथि पुगेको छ । तर उनको यात्रालाई केवल पदोन्नतिको सूचीमा सीमित गर्न मिल्दैन ।
करिब चार दशकको यो अवधिमा उनले निजामती प्रशासनका विभिन्न जिम्मेवारीसँगै कर्मचारी आन्दोलन र संगठनात्मक गतिविधिमा समेत भूमिका निर्वाह गरेका छन् ।
२०४८ सालको कर्मचारी आन्दोलनका क्रममा उनी पाल्पामा सक्रिय थिए । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनका बेला सिंहदरबार भित्र कर्मचारीलाई आन्दोलनमा सक्रिय गराउने अभियानमा समेत उनी जोडिएका थिए ।
पुनःस्थापित प्रतिनिधिसभाको संकल्प प्रस्तावपछि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने व्यवस्था अघि बढेपछि उनी तत्कालीन नेपाल निजामती कर्मचारी संगठनको नेपालगन्ज महाधिवेशनबाट संगठनको सचिवमा निर्वाचित भएका थिए ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ को ग्रामीण परिवेशबाट सुरु भएको जीवनयात्रा र २०४६ सालमा मुखियाका रूपमा समातेको सरकारी सेवाको बाटोले कुँवरलाई चार दशकपछि निजामती सेवाको विशिष्ट श्रेणीसम्म पुर्याएको छ ।




