पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ। प्रतियोगिता सफल बनाउन स्थानीय जनप्रतिनिधि, संघसंस्था, विद्यालय, युवा क्लब, टोल विकास संस्था, व्यवसायी तथा स्थानीय सरोकारवालाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतियोगितालाई पुम्दी–भुम्दीको पर्यटन तथा खेल पर्यटन प्रवद्र्धनसँग जोडेर अघि बढाउने तयारी गरिएको छ। धावकको सहभागिता, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खानेपानी तथा दौड मार्गमा स्वागत–सत्कारलगायत व्यवस्थापनमा स्थानीय तहबाट सहयोग गरिने जनाइएको छ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले प्रतियोगितालाई निरन्तरता दिँदै वडाको पर्यटन प्रवद्र्धनमा जोड दिइने बताए। पुम्दी–भुम्दी पदयात्रा र पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र भएकाले खेलकुदसँगै पर्यटनलाई जोडेर स्थानीय अर्थतन्त्रको विकास गर्न सकिने उनले बताए।

उनका अनुसार ‘राउन्ड फेवा, भ्यु फेवा’ फुटट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। एसियाली विकास बैंकको सहकार्यमा करिब ५२ करोड रुपैयाँ बराबरको पदमार्ग निर्माणको कामसमेत अघि बढेको छ। उक्त कामका लागि टेन्डर भइसकेको उनले जानकारी दिए।
विश्व शान्ति स्तुप समितिका सचिव तथा पूर्वप्रधानपञ्च दुर्गबहादुर गुरुङले प्रतियोगिताले पुम्दी–भुम्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए। विश्व शान्ति स्तुपबाट दौड सुरु हुने भएकाले प्रतियोगिताको सुरुवाती व्यवस्थापनमा समितिले सहयोग गर्ने उनले बताए।

कालाबाङ घरेडी बुद्धपार्क समितिका अध्यक्ष राज गुरुङले गत वर्षका अनुभवका आधारमा यसपटक व्यवस्थापन सुधार गर्नुपर्ने बताए। धावकको स्वास्थ्य, खानेपानी र अन्य आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने उनको सुझाव थियो।
पोखरा–२२ स्वास्थ्य चौकीले प्रतियोगिताका क्रममा आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ। स्थानीय विद्यालय, होमस्टे, युवा क्लब तथा अन्य संघसंस्थाले पनि प्रतियोगितामा धावक सहभागी गराउने र स्वयंसेवक परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङका अनुसार आठ किलोमिटर दूरीको दौड पुम्दी–भुम्दीको प्राकृतिक तथा भौगोलिक विशेषतासँग जोडिएको छ। यसलाई खेल पर्यटनको माध्यमबाट क्षेत्रको पहिचान विस्तार गर्ने कार्यक्रमका रूपमा अघि बढाउन सकिने उनले बताए।
प्रतियोगिताका संयोजक दीननाथ बरालका अनुसार खुलातर्फसहित छ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि केही दिनभित्रै पोखरा क्लिक अनलाइन पोर्टलमार्फत आवेदन खुला गरिनेछ।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा हुने प्रतियोगितामा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स हस्पिटालिटी पार्टनर, नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा जोडिएका छन्। वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ।




