पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को नेतृत्वका लागि सरोज केसीले संगठनलाई चलायमान बनाउनेदेखि नयाँ पुस्तालाई जोड्ने र कार्यकर्ताको आवाजलाई प्राथमिकता दिने एजेन्डासहित क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि संगठनमा काम गर्दै आएका साथी, अग्रज नेता तथा शुभेच्छुकसँगको छलफल र सुझावपछि उम्मेदवारी घोषणा गरेको केसीले बताएका छन् । उनले आफ्नो उम्मेदवारी कसैको विरोधमा नभई कास्की–१ को कांग्रेसलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले अघि सारेको बताएका छन् ।
केसीले नेतृत्व पाए क्षेत्रीय संगठनलाई केही व्यक्तिको पहुँचमा सीमित नराखी सबै कार्यकर्ताका लागि खुला र सहज बनाउने बताएका छन् । वडा तहदेखि क्षेत्रीय तहसम्म पार्टीका गतिविधिलाई नियमित बनाउने, नेतृत्व र आधार तहका कार्यकर्ताबीच निरन्तर संवाद गर्ने तथा कार्यकर्ताको अवस्था बुझेर जिम्मेवारी पूरा गर्ने वातावरण निर्माण गर्ने उनको एजेन्डा छ ।
उनको प्राथमिकतामा युवा र महिला सहभागिता बढाउने तथा अग्रजको अनुभवलाई नयाँ पुस्तासँग जोड्ने विषय पनि छ । नयाँ पुस्तालाई पार्टी संगठनमा जोड्दै उनीहरूलाई जिम्मेवारी र अवसर दिने तथा अनुभवी नेताकार्यकर्ताको अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने केसीले बताएका छन् ।

केसीले पार्टीभित्र विचार र नेतृत्वका विषयमा फरक मत हुनु स्वाभाविक भएको भन्दै फरक मतलाई सम्मान गर्ने संस्कार बलियो बनाउनुपर्ने बताएका छन् । महाधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध र संगठनात्मक एकतासँग जोड्न नहुने उनको भनाइ छ । निर्वाचन एउटा प्रक्रिया भएकाले त्यसपछि सबै मिलेर संगठन निर्माणमा लाग्नुपर्ने उनले बताएका छन् ।
केसीको एजेन्डा पार्टी संगठनमा मात्र सीमित छैन स्थानीयस्तरमा जनताले भोगिरहेका समस्या र विकासका मुद्दालाई पहिचान गरी स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म राजनीतिक रूपमा उठाउने तथा समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने उनको प्रतिबद्धता छ ।
उनले नेतृत्वले केवल निर्देशन दिनेभन्दा पहिले कार्यकर्ताको अवस्था बुझ्नुपर्ने बताएका छन् । कार्यकर्तामा भरोसा बढाउने, जनतासँग कांग्रेसको सम्बन्ध थप बलियो बनाउने र संगठनलाई जनताका समस्या उठाउने माध्यमका रूपमा विकास गर्ने उनको भनाइ छ ।
केसी यसअघि कास्की–१ को क्षेत्रीय सचिवका रूपमा काम गरिसकेका छन् भने नेविसंघको केन्द्रीय सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।
कास्की–१ को क्षेत्रीय सभापति पदमा केसीसँगै ओमप्रसाद गुरुङ र नरेन्द्र थापाले पनि उम्मेदवारी घोषणा गरेका छन् ।




