newa srijana

पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा असोज २४ गते हुने प्रतियोगिताका लागि सहयोगको प्रतिबद्धता

पोखरा। असोज २४ गते पोखरामा हुन लागेको तेस्रो पर्वतीय दौड प्रतियोगिता सफल बनाउन पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन्। पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा हुने प्रतियोगिताबारे भएको छलफलमा सहभागीले विपद्को विषम परिस्थितिमा पनि प्रतियोगिता निरन्तरता दिनु सकारात्मक भएको भन्दै आवश्यक सहयोग र सहजीकरण गर्ने बताएका छन्।

पोखरा प्रवर्द्धन केन्द्रका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिननाथ बरालको अध्यक्षतामा भएको छलफलमा पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटिभीए, एगा पोखरा, ओटेफ गण्डकी, मुद्रा सटही संघ र टेवान गण्डकीलगायतका प्रतिनिधिको सहभागिता थियो।

पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा सम्पन्न हुने आठ किलोमिटरको प्रतियोगितामा खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स र वडास्तरीय गरी ६ विधामा धावकले प्रतिस्पर्धा गर्ने प्रवर्द्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए। तीनवटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यलाई एउटै दौडमार्फत जोडिएकाले प्रतियोगिता अन्य सामान्य प्रतियोगिताभन्दा फरक प्रकृतिको भएको रेस डाइरेक्टर ओम गुरुङले बताए।

खेलकुद इभेन्टले पोखराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। प्रतियोगितालाई पोखराको वार्षिक पर्यटन क्यालेन्डरमै समावेश गर्नुपर्ने उनले बताए। मौसमका कारण मिति परिवर्तन गर्नुपरेकाले आगामी वर्षदेखि मिति पहिल्यै निर्धारण गरी छुट्टै क्यालेन्डरमा समावेश गर्नुपर्ने टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले बताए।

अन्तर्राष्ट्रिय खेलाडी सहभागी गराउन सके पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले बताइन्। व्यवस्थापनमा स्वच्छता, सरसफाइ र विदेशी पर्यटकको सुविधालाई प्राथमिकता दिनुपर्ने रेवान पोखराका अध्यक्ष बसन्त गौतमले बताए।

सिटीजन फनिच्रर

संघले विगतदेखि नै विभिन्न खेलकुद तथा पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको छ। बाढीपहिरोजस्ता विपद्का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन हामीहरू साथमा छौँ भन्दै होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। प्रतियोगिता लेकसाइड वा ड्यामसाइडबाट सुरु गरी पुम्दी–भुम्दी क्षेत्रसम्म जोड्न सकिने उनले बताए।

पुम्दी–भुम्दी क्षेत्रका पर्यटकीय गन्तव्य जोडेर आयोजना हुने दौडलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराईले बताए। आकर्षक दृश्य समेटिएका रील्स र ड्रोन भिडियो बनाई सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नुपर्ने उनले बताए। देश बाढीपहिरोको पीडामा रहेको र अधिकांश राजमार्ग प्रभावित भएको अवस्थामा प्रतियोगिता निरन्तरता दिन खोज्नु सकारात्मक भएको एनटिभीएका अध्यक्ष रविप्रसाद आचार्यले बताए।

आयोजकलाई धन्यवाद दिँदै निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्नुपर्ने पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले बताए। पीटिसीका महासचिव मिलन तिवारी, पर्यटनविद् दीपेन्द्र पहारी, एगा पोखराका अध्यक्ष गीता ढकाल पौडेल, ओटेफ गण्डकीका अध्यक्ष ममता न्यौपाने, मुद्रा सटही संघका अध्यक्ष दीपकराज मिश्र र टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डेलगायतले पनि सहयोग र सहजीकरण गर्ने बताए।

प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स र मेडिकल पार्टनरमा नेलम्बो नेपाल छन्। पोखरा टेलिभिजन अफिसियल टेलिभिजन रहेको आयोजकले बताएका छन्।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेको प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमति र पोखरा–२२ को समन्वयमा हुन लागेको हो। सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, परिचय एड्भर्टाइजिङ, पोखरा–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको संयोजक बरालले बताए।

Rabin photo