पोखरा । अन्तर्राष्ट्रिय धावक तथा पूर्व ब्रिटिस गोर्खा सैनिक ले.रि. कुसाङ कुमार गुरुङले पोखरामा हुने तेस्रो संस्करणको खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गर्ने भएका छन्।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा असोज २४ गते हुने प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगितामा दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
गुरुङले यसअघि पनि पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन गरेका थिए। प्रतियोगिता संयोजक दीननाथ बरालले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम स्थापित गर्न योगदान गरेका गुरुङसँग यस वर्ष पनि प्रथम पुरस्कार प्रायोजनका लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
प्रथम पुरस्कार प्रायोजन गरेसँगै प्रतियोगिता सम्पन्न नहुँदासम्म विभिन्न निकाय तथा सरोकारवालासँग हुने छलफल र प्रचार–प्रसारमा गुरुङको तस्वीरसहितको लोगो समावेश गरिने पोखरा प्रवद्र्धन केन्द्रका सचिव सागर सुनारले बताए।

फलेवास नगरपालिका–८, खाल्टेमा जन्मिएका गुरुङले ब्रिटिस सेनामा २४ वर्ष सेवा गरी लेफ्टिनेन्ट पदबाट अवकाश पाएका हुन्। खेलकुदमा सक्रिय उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन्।
गुरुङले ब्रिटिस फोर्सेस हङकङ क्रसकन्ट्री, ब्रिटिस आर्मी क्रसकन्ट्री तथा एथ्लेटिक्स प्रतियोगितालगायतमा सफलता हासिल गरेका छन्। उनले फोर पिक रेस हङकङमा कीर्तिमानी समयसहित स्वर्ण पदक तथा अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथनमा रजत पदकसमेत जितेका छन्।
उनले १९ म्याराथन र २३ हाफ म्याराथन पूरा गरेको आयोजकले जनाएको छ। मलेसियामा आयोजित माउन्ट किनाबालु क्लाइम्बाथनमा लगातार तीन पटक सफलता हासिल गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएको आयोजकको भनाइ छ।
खेलकुदसँगै गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी तमुधीं यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएनए यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटीलगायत संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्।
प्रतियोगिताको दोस्रो संस्करणमा आठ देशका १६७ जना धावक सहभागी भएका थिए। यस वर्ष खुलातर्फसहित छ वटा इभेन्टमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।




