पोखरा । बेगनास ताल किनारमा आयोजना हुन लागेको छैठौं संस्करणको बेगनास फिस फेस्टिभल सफल बनाउन लेखनाथका विभिन्न संघसंस्था तथा स्थानीय अगुवाहरूले साथ, सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका छन् । तयारीका क्रममा आयोजित भेलामा वक्ताहरूले पर्यटन प्रवद्र्धन, सरसफाइ, जनशक्ति परिचालन, झाँकी ¥याली, मत्स्य प्रवद्र्धन र व्यवस्थापनमा सहकार्य गर्ने बताएका हुन् ।
होटल एण्ड रेष्टुरेन्ट एशोसिएसन लेखनाथको आयोजनामा आगामी कार्तिकको १३ देखि २३ गते सम्म बेगनासताल किनारमा छैठौं संस्करणको बेगनास फिस फेस्टिभलको आयोजना हुँदैछ ।
शुक्रबार आयोजित भेलामा बोल्दै रामटोल नमुना आमा समूहकी अध्यक्ष देवका पौडेलले महोत्सवमा आर्थिक सहयोग गर्न कठिन भए पनि सरसफाइ तथा जनशक्ति परिचालनमा समूहले सहयोग गर्ने बताइन् । बेगनास ताल महिला समूहकी पूर्वअध्यक्ष शान्ति खनालले पर्यटनको ठूलो सम्भावना बोकेको बेगनासलाई प्रवद्र्धन गर्न सबै संघसंस्थाले महोत्सवलाई आफ्नै कार्यक्रम ठानेर अपनत्व लिनुपर्नेमा जोड दिइन् ।
बेगनास ताल महिला समूहकी सल्लाहकार सीता कार्कीले आयोजकले दिएको जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको बताइन् भने नमुना टोल विकास संस्थाकी अध्यक्ष लक्ष्मी कोइरालाले स्वयंसेवक र सरसफाइका लागि महिला जनशक्ति परिचालन गर्न सकिने बताइन् । बेगनास ताल टोल विकास संस्थाका अध्यक्ष भानुभक्त पौडेलले स्थानीयस्तरमा हुने कार्यक्रम सफल बनाउन संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
स्थानीय भुवन कँडेलले महोत्सव कुनै एउटा संस्था वा व्यवसायीको मात्र नभई सबै स्थानीयको साझा कार्यक्रम बन्नुपर्ने बताए । जलेश्वर शिव मन्दिरका निवर्तमान अध्यक्ष कृष्ण ढुंगानाले सकारात्मक सन्देश, पर्याप्त जनशक्ति, मितव्ययिता र आर्थिक स्रोत व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।
बेगनास ताल भजन मण्डलीका उपाध्यक्ष हिरामणि दाहालले आवश्यक पर्दा आफ्नो समूह सहयोगका लागि तयार रहेको बताए । पोखरा–३० का सामाजिक व्यक्तित्व भुवन श्रेष्ठले प्रचारप्रसार र सरसफाइ प्रभावकारी बनाउँदै माछाका विभिन्न प्रजाति तथा एक्वारियम फिससमेत प्रदर्शन गर्न सके महोत्सव आकर्षक हुने बताए ।
मिलनसार तमु समाजका अध्यक्ष ईश्वर गुरुङले मत्स्य अनुसन्धान केन्द्रसँग समन्वय गरी उपलब्ध माछाका विभिन्न प्रजाति प्रदर्शन गर्न सुझाव दिँदै झाँकी ¥यालीलगायत जिम्मेवारी लिन तयार रहेको बताए । बेगनास मत्स्य क्षेत्रका राजेन्द्र जलारीले होटल तथा रेस्टुरेन्टमा स्थानीय माछा उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ज्येष्ठ नागरिक सेवा केन्द्रका पदम आचार्यले स्पष्ट जिम्मेवारी दिइए संस्थाले सहयोग गर्ने बताए भने डुङ्गा व्यवसायी समितिका अध्यक्ष नवराज बास्तोलाले समितिमा छलफल गरी संस्थागत र व्यक्तिगत रूपमा सहयोग गर्ने बताए । धार्मिक पर्यटन तथा विकास संस्था बेगनासका मित्रलाल भण्डारीले आर्थिक क्षमता सीमित भए पनि पर्यटन प्रवद्र्धनका काममा सक्रिय सहयोग रहने बताए ।
कुर्लुङखोला तथा सरसफाइ आयोजनाका अध्यक्ष दयासागर अधिकारीले आयोजकले संस्थाको क्षमता हेरेर जिम्मेवारी तोक्दा प्रभावकारी हुने सुझाव दिए । दिपाङ ताल पूर्वाधार एवं संरक्षण समितिका अध्यक्ष हेमराज आचार्यले बेगनास, दिपाङ र आसपासका क्षेत्रलाई जोडेर पर्यटन विकास गर्नुपर्ने बताउँदै आर्थिक सहयोग सीमित भए पनि जनशक्ति र संस्थागत सहयोग उपलब्ध गराउने बताए ।
रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष राम थापाले विगतका कार्यक्रमका कमजोरी समीक्षा गरी व्यवस्थापन सुधार्नुपर्ने भन्दै रुपातालका तर्फबाट आवश्यक सहयोग रहने बताए । जलेश्वर शिव मन्दिरका अध्यक्ष तथा बेगनास बाराही आरती समितिका अध्यक्ष राममणि अधिकारीले आर्थिक सहयोगबाहेक समन्वय, स्रोतसाधन र कार्यक्रमस्थल उपलब्ध गराउन तयार रहेको बताए । उनले छलफललाई आलोचनाभन्दा महोत्सव सफल बनाउन आफ्नो भूमिका के हुन सक्छ भन्ने विषयमा केन्द्रित गर्न सुझाव दिए ।
देउराली मन्दिर व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पुरुषोत्तम अधिकारीले जनप्रतिनिधिसहित थप स्थानीय संघसंस्थालाई समेट्नुपर्ने र महोत्सवलाई मुख्य राजमार्गदेखि बेगनास तालसम्मका गतिविधिसँग जोडेर बृहत् बनाउनुपर्ने बताए ।
बेगनास युवा क्लबका सचिव विज्ञान कोइरालाले महोत्सवका लागि सचिवालय उपलब्ध गराउने बताए ।
एशोसियसनका पूर्व अध्यक्ष तथा छैठौं फिस फेस्टिभलका निर्देशक दुर्गा प्रसाद अधिकारीले भेलामा उठेका प्रश्नहरुको सहजीकरण गरेका थिए । भेलाका वक्ताहरूले फेस्टिभललाई बेगनास क्षेत्रको मात्र नभई समग्र लेखनाथको पर्यटन प्रवद्र्धनसँग जोडिएको साझा कार्यक्रमका रूपमा अघि बढाउँदै आ–आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
एशोसियसनका अध्यक्ष शुरेस लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्राममने सञ्चालन महासचिव शक्ति श्री कोइरालाले गरेकी थिइन ।




