newa srijana

पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन खेल संघसंस्थाको आग्रह

पोखरा  । पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा थप मजबुत बनाउन खेल संघसंस्थाका प्रतिनिधिहरूले आग्रह गरेका छन् । पोखरामा शुक्रबार आयोजित खेल संघ संस्था सहितका सरोकारवालासंगको छलफल कार्यक्रममा सहभागिहरुले प्रतियोगिता सफल बनाउन आवश्यक प्राविधिक तथा अन्य सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन्।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा आगामी असोज २४ गते शनिबार पोखरामा प्रतियोगिता आयोजना हुँदैछ । पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई अघिल्ला संस्करणभन्दा थप व्यवस्थित, सुरक्षित र प्राविधिक रूपमा सक्षम बनाउन सरोकारवालाले सुझाव दिएका हुन्।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले पोखरामा आयोजना हुने प्रतियोगितालाई हरेक संस्करणसँगै थप परिस्कृत र व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताको व्यवस्थापनसँगै प्राविधिक पक्षमा कुनै कमजोरी हुन नदिन आयोजकलाई आग्रह गर्नुभयो । पोखरामा नयाँ ब्रान्डका रूपमा स्थापित हुँदै गएको पर्वतीय दौड प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको अध्यक्ष गोदारले जनाउनु भयो ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पोखरामा उदाउँदै गरेको यस प्रतियोगितालाई सबैले अपनत्व लिएर सहयोग गर्नुपर्ने बताउनुभयो । प्रतियोगितालाई सफल बनाउन आफ्नो तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले अघिल्लो संस्करणको तुलनामा यस वर्ष प्रतियोगितालाई थप प्राविधिक रूपमा मजबुत बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धार्थ अधिकारीले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा लैजान प्राविधिक पक्षलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक सहयोग र प्राविधिक सहजीकरण गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

सिटीजन फनिच्रर

प्रतियोगिताका संयोजक दिननाथ बरालले पोखरामा खेल पर्यटन प्रवद्र्धनसँगै स्थानीय गाउँठाउँको पहिचान, कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिन लागिएको बताउनुभयो । प्रतियोगितालाई थप व्यवस्थित र भव्य बनाउन विभिन्न निकाय तथा सरोकारवालासँग पटकपटक छलफल, अन्तरक्रिया र सहकार्य गर्दै सुझाव लिने गरिएको पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । प्राप्त सुझावलाई प्रतियोगिताको व्यवस्थापन तथा प्राविधिक पक्ष सुधारमा समेटिने उहाँको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश जिम्न्यास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङ, एथलेटिक्स संघ गण्डकीका महासचिव मनबहादुर थापा, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, जिल्ला स्ट्रङ्गेस्ट क्युकोसिङ करातेका अध्यक्ष कृष्ण नेपाली, कास्की जिल्ला जुडो संघका प्रथम पस छन्त्याल, कास्की जिल्ला टेबलटेनिस संघका गौतमराज लामा योञ्जन, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डीबी नेपाली, मुवाथाईका खेलाडी तथा प्रशिक्षक रूपक नेपाली, कास्की जिल्ला बास्केटबल संघका प्रेम पुन, अल्पाइन स्पोट्र्सका मोनीलाल खनाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुने प्रतियोगिता प्रदेश खेलकुद परिषद्, गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यमा सञ्चालन हुने भएको हो । प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा मेडिप्लस एन्ड ट्रमा सेन्टर, इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स र अफिसियल टेलिभिजनका रूपमा पोखरा टेलिभिजन रहेको छ । त्यस्तै, आधिकारिक खानेपानीका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, राष्ट्रिय खेलकुद परिषद्, अटो वेज प्रालि., हिमश्री फुड्सको उत्पादन रारा तयारी चाउचाउ, शुभ अधिकारी ट्राभल्स, सिटिजन फर्निचर, चिकेन प्वाइन्ट, वडा युवा परिषद्, विश्व शान्ति स्तूप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति सहित विभिन्न व्यवसायी तथा संघ संस्थाको सहयोग रहेको संयोजक बरालले जानकारी दिनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक ले.रि.कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ ।

Rabin photo