newa srijana

पोखरा गौशालामा पाँचदिने गाई पूजा महोत्सव

मझुवास्थित गौशालामा स्थानीय जातका १५६ वटा गाईको दर्शन र पूजाको व्यवस्था मिलाइएको छ

पोखरा । पोखरा महानगरपालिका–१५ मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा कात्तिक २१ देखि २५ गतेसम्म पाँचदिने गाई पूजा महोत्सव हुने भएको छ । तिहारको अवसरमा स्थानीय रैथाने जातका गाईको संरक्षण र संवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।

कार्यक्रम संयोजक लक्ष्मण पौडेलले महोत्सवको पूरा तयारी भइसकेको बताए । महोत्सव अवधिभर दैनिक बिहान ८ बजेदेखि आगन्तुकले स्थानीय जातका सबै १५६ वटा गाईको दर्शन र पूजा गर्न पाउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । हिन्दू संस्कृतिमा गाईलाई माता, समृद्धि र करुणाको प्रतीक मानिने भन्दै उनले गाईको सेवा तिहारका दिन मात्र नभई हरेक दिन गर्नुपर्ने बताए।

सिटीजन फनिच्रर

गौशालाका परिकल्पनाकार नन्दगोपाल दास हुन् । उनको अवधारणाअनुसार छाडा छोडिएका र बेवारिसे स्थानीय गाईको संरक्षणका लागि आश्रम स्थापना गरिएको हो । नौ वर्षअघि पाँचवटा गाईबाट सुरु गरिएको गौशालामा अहिले गाईको संख्या १५६ पुगेको छ । तीमध्ये १० वटा दुहुना छन् । दाताले उपलब्ध गराउने पराल, चोकर र अन्य खुराकबाट गौशाला सञ्चालन भएको छ । सेती नदीको किनारमा रहेको आश्रममा पाँचवटा गोठ बनाइएका छन् र गाईको रेखदेखका लागि पाँच जना गौसेवक खटिएको आश्रमले जनाएको छ ।

संयोजक पौडेलले गाई तिहारको अवसरमा गौसेवा, आहार दान र संरक्षण कार्यमा सहभागी हुन नागरिक र गौप्रेमीलाई आग्रह गरे ।

रुपा गाउँ पालिका