newa srijana

प्लास्टिकका फूलमाला राखेका पसलमा अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

तिहारअघि पूजासामग्री र झिलिङ्गा बेच्ने नौवटा पसलमा गरिएको अनुगमनमा प्रतिबन्धित माला भेटिएपछि नियन्त्रणमा लिइएको हो

पोखरा । पोखरा महानगरपालिकाले तिहारअघि बजार अनुगमन गर्दै प्रतिबन्धित प्लास्टिकका फूलमालासहित ६ हजार २८० रुपैयाँ बराबरका सामग्री नष्ट गरेको छ । शुक्रबार वडा नं. १ र २ का बिन्ध्यवासिनी र बगर क्षेत्रका नौवटा पूजासामग्री तथा झिलिङ्गा पसलमा अनुगमन गरी ती सामग्री नष्ट गरिएको हो ।

उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला र रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको भेटिएको महानगरको सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले बताइन् । नेपाल सरकारले प्रतिबन्ध लगाएका सामग्री नियन्त्रणमा लिई नष्ट गरिएको उनले जानकारी दिइन् ।

महानगरले तीन वर्षदेखि प्लास्टिकजन्य फूलमालाको बिक्री–वितरण रोक्न अभियान चलाउँदै आएको महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताए । यस वर्ष पनि औपचारिक सूचना जारी गरी व्यवसायीलाई यस्ता माला बिक्री नगर्न आग्रह गरिएको थियो । सूचना कार्यान्वयन भए–नभएको हेर्न बजार अनुगमन तीव्र बनाइएको उनले जानकारी दिए ।

सिटीजन फनिच्रर

उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको बिक्री–वितरणमा रोक लगाइएको बताइन् । तिहारमा यस्ता सामग्रीको बिक्री बढ्ने भएकाले अनुगमनलाई प्राथमिकता दिइएको उनले जानकारी दिइन् । विगतका वर्षमा व्यवसायीबाट गुनासा आउने गरे पनि यस वर्ष तुलनात्मक रूपमा कम देखिएको उनले बताइन् ।

उनले व्यवसायीलाई प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम गर्न तथा म्याद नाघेका सामग्री र प्लास्टिकका फूलमाला बिक्री नगर्न आग्रह गरिन् । प्लास्टिकका कृत्रिम फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमालाको प्रयोग गर्न र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उनले व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिन् ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ अनुसार राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण र भण्डारणमा प्रतिबन्ध लगाएको छ । निर्णयविपरीत काम गरेको पाइएमा १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराकी अधिकृत सरस्वती गिरी र पत्रकारको सहभागिता थियो । महानगरले आगामी दिनमा पनि बजार अनुगमन निरन्तर गर्ने जनाएको छ ।

रुपा गाउँ पालिका