पोखरा । पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ । तिहारको अवसरमा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा सोमबार भएको मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता–२०८३ मा ११ समूहको सहभागिता थियो । विजेता पुन समाजले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाएको छ ।
पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा तथा पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोके टेलिभिजनको संयुक्त आयोजनामा उत्सव भएको हो । नेपाली मौलिक लोकसंस्कृति तथा परम्परागत देउसी–भैलोको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । उत्सवको उद्घाटन उपप्रमुख मञ्जुदेवी गुरुङले दीप प्रज्वलन तथा गाई पूजा गरेर गरेकी थिइन् । गाईपूजाकै दिन कार्यक्रम भएकाले उत्सवस्थलमा सामूहिक गाईपूजासमेत गरिएको थियो ।
सहभागी सबै समूहले परम्परागत भेषभूषामा नेपाली मौलिक भाका, शब्द, लय र तालमा देउसी–भैलो प्रस्तुत गरेका थिए । मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, भेषभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा समूहको मूल्यांकन गरिएको थियो । मुख्य निर्णायक पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल थिए । देउसी–भैलोसँगै स्थानीय कलाकारका सांगीतिक कार्यक्रम तथा तिहारसँग सम्बन्धित सांस्कृतिक गतिविधि पनि भएका थिए ।
सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । उनीहरूलाई चामल, फलफूल, सेलरोटी, नगद ५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

उपप्रमुख गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएकाले संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताइन् । नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता उत्सव प्रभावकारी हुने उनले बताइन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसी–भैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताए ।
पर्यटन परिषद्का महासचिव मिलन तिवारीले उत्सवमा स्थानीय समूहसँगै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको बताए । नेपाली मौलिक देउसी–भैलो विदेशी पर्यटकका लागि नयाँ अनुभव बनेको उनले जानकारी दिए । महानगरको आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने उनले बताए ।
पब्लिक फोके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले पहिलोपटक आयोजना गरिएको उत्सवमा सहभागी, सहयोगी र उपस्थित सबैप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान प्रवर्द्धक थिए । पर्यटनका विभिन्न सङ्घसंस्थासहित सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालय गण्डकीको सामाजिक विकास महाशाखा, पोखरा महानगरपालिका, माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाको सहकार्य रहेको थियो ।




