आजको युगमा हामीमध्ये कोही पनि सामाजिक सञ्जालबाट टाढा छैनौँ। बिहान उठेदेखि रात सुत्नेबेलासम्म हातमा मोबाईल र आँखामा स्क्रिन टाँसिएको छ। फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता डिजिटल प्लेटफर्महरूले हामीलाई आफ्ना जीवनका क्षणहरू सजिलैसँग बाँड्ने माध्यम दिएका छन्। आफ्ना अनुभव, भावना र उपलब्धिहरू अरूसँग साझा गर्न मिल्ने सुविधा सँगसँगै, यिनले एउटा अनौठो प्रवृत्ति पनि जन्माइदिएको छ — अरूको जीवनबारे हदभन्दा बढी चासो र जिज्ञासा।
यो अनौठो प्रवृत्ति सुरुमा सामान्य लाग्न सक्छ। तर विस्तारै यसले सामाजिक व्यवहारमा असर गर्न थाल्छ। आजभोलि तपाईंले फेसबुकमा एकदिन पनि केही पोस्ट नगरेर बस्नुभयो भने, मेसेन्जरमा ‘कता हरायौ?’ भन्ने सन्देश आउँछ। कहिलेकाहीँ त अझ अगाडि बढेर सोधिन्छ — के खायौ?, कोसँग छौ?, कहाँ छाै?, अनि तपाईंले भनिदिनुभयो भने पनि सन्तुष्ट हुँदैनन्, कुनै फोटो छ कि भनेर खोज्न थाल्छन्।
कहिलेकाहीँ त यस्तो पनि हुन्छ —
(कुराकानी)
साथी: बिजी छस्?
म: हो, काममा छु।
साथी: काम के हो? कहाँ होस्? कोसँग?
म: अब ठेगाना र नागरिकताको नम्बर पनि चाहिन्छ कि?
यस्ता संवाद हास्यास्पद लाग्न सक्छन्, तर यथार्थ यही हो। व्यक्तिगत कुरालाई सार्वजनिक रूपमा हेर्न चाहने, बुझ्न खोज्ने र कहिलेकाहीँ त मूल्यांकन गर्न समेत पछि नपर्ने प्रवृत्ति बढ्दो छ।
पहिले–पहिले निजी जीवन भनेको आफन्त वा खास साथीहरूमा मात्र सीमित हुन्थ्यो। कसैलाई भेटेर, पत्र लेखेर वा फोन गरेर मात्र आफ्नो खबर सुनाइन्थ्यो। त्यतिबेला कुराले आत्मीयता बढाउँथ्यो, दूरी घटाउँथ्यो। तर अहिले केही सेकेन्डमै आफ्नो अवस्थाको जानकारी हजारौँ मानिससँग साझा गर्न सकिन्छ — त्यो पनि फोटो, भिडियो र लोकेसन ट्यागसहित।
समस्या त्यतिबेला सुरु हुन्छ जब अरूले हाम्रो जीवनको प्रत्येक क्षण जान्न पाउनु आफ्नो अधिकार ठान्न थाल्छन्। बिहानको कफीदेखि बेलुकाको खानासम्म, काठमाडौँको भीडदेखि पोखराको तालसम्म, साथीहरूसँगको भेटघाटदेखि एक्लो समयसम्म — सबैको विवरण तस्बिरसहित चाहिन्छ। कार्यक्रममा गयौँ भने लोकेसन ट्याग नगरेसम्म, कोसँग भेट्यौँ भनेर ट्याग नगरेसम्म, कतै न कतै कसैले प्रश्न त ठोक्किन्छ नै — “यत्रो कार्यक्रम गयौ, केही पोस्ट किन गरेनौ?”
यसरी, कहिल्यै नरोकिने ‘अपडेट’को अपेक्षाले निजी जीवनमा पसेर आत्मनिर्भरता नै हराउँदै गएको जस्तो लाग्न सक्छ। किन यस्तो भइरहेको छ? कारण धेरै छन्।
सामाजिक स्वभाव अनुसार, मानिस अरूको जीवनसँग सम्बन्धित महसुस गर्न चाहन्छ। विदेश गएको साथीले समुद्र किनारको फोटो पोस्ट गर्यो भने, ‘मैले पनि त्यो देखेँ’ भनेर सन्तुष्टि लिन्छ। त्यो अपडेट पाउनु आफैंमा एक किसिमको सम्पर्क राखेजस्तो लाग्छ। अर्कोतर्फ, तुलनाको मनोविज्ञानले पनि भूमिका खेल्छ। कोही घुम्न गएको देख्दा, कोही रमाइलो खाइरहेको देख्दा, आफूलाई हेरेर “म त यति पनि गर्न सक्दिन” भन्ने भावनाले पोल्छ। त्यसले आत्मग्लानी, ईर्ष्या र असन्तुष्टि जन्माउँछ।
फेरि, अरूको जीवनको जानकारी गफगाफको स्रोत पनि बन्छ। “हिजो ऊ त्यो मान्छेसँग देखिएकी थिई”, “फोटो त अपलोड गरेको थियो नि!” भन्ने गफहरू चिया पसलदेखि मेसेन्जरसम्म चल्छन्। अनि अर्को कारण — खालीपन। कतिपयले आफ्नो जीवनमा उत्साह नपाएको, एक्लोपनाको अनुभूति गरिरहेको अवस्थामा अरूको जीवन नियाल्न थाल्छन्, त्यहाँ रमाइलो खोज्छन्, उत्सुकता देखाउँछन्।
यस्ता चासो र जिज्ञासाको असर सधैं सकारात्मक हुँदैन। ‘बिजी छु’ भन्ने सामान्य उत्तरलाई कतिले अपमानजस्तो लिन्छन्। कहिलेकाहीँ त सामाजिक सञ्जालकै कारण मानिस तनावमा पनि पर्न सक्छ। के पोस्ट गर्ने, के नपोस्ट गर्ने भन्ने द्विविधा उत्पन्न हुन्छ। “पोस्ट गरे पनि अनेक प्रश्न आउँछन्, नगरे पनि अझ चासो बढ्छ” भन्ने सोचले कतिलाई सामाजिक सञ्जालबाट टाढिन बाध्य बनाउँछ। अझ निजी कुरा साझा नगर्दा “के लुकाइरहेको हो?” भन्ने शंका उत्पन्न हुन्छ।
यस्तो अवस्थामा के गर्न सकिन्छ त?
सामाजिक सञ्जालमा पोस्ट गर्ने बानी अरूलाई देखाउन होइन, आफ्नै सन्तोष र खुशीका लागि हुनुपर्छ। ‘अरूले के सोच्लान्?’ भन्ने डरले होइन, ‘म के अनुभूत गरिरहेको छु?’ भन्ने आत्म–चेतनाले पोष्ट तय हुनुपर्छ। आफ्नो जीवनमा को, कहिले, किन सामेल छ भन्ने कुरा अरूको अनुमतिमा आधारित होइन भन्ने आत्मविश्वास राख्नुपर्छ।
‘यो कुरा व्यक्तिगत हो’ भन्ने कुरा नम्र तर दृढ रूपमा भन्न सक्नुपर्छ। हामीसँगै अरूलाई पनि बुझ्न सिक्नुपर्छ — जब कसैले केही पोस्ट गर्दैन, त्यो सायद उसले शान्ति चाहेको बेला हो। सबै कुरा सेयर गर्नैपर्छ भन्ने बाध्यता छैन। व्यक्तिगत जीवन साझा गर्नु अधिकार हो, बाध्यता होइन भन्ने बुझाइ हुनु आवश्यक छ।
त्यस्तै, हामी आफैं पनि अरूको जीवनमा अनावश्यक हस्तक्षेप नगर्ने बानी बसाल्नुपर्छ। ‘कसैले के खायो, कहाँ गयो, कोसँग छ’ भन्ने कुरा हामीलाई जान्नै पर्ने कुरा होइन। त्यो जान्ने चाहना र बुझ्ने चाहना बीचको सिमाना हामीले नै बनाउनु पर्छ।
यति धेरै जान्न मन लाग्छ भने एउटा उपाय छ — मलाई फेसबुकमा लाइभ राखेर २४ घण्टा स्ट्रिम गर्नुस्, तपाईंले मेरो सबै गतिविधि देख्न सक्नुहुनेछ। साँच्चै भन्ने हो भने, हामी यति पारदर्शी जीवन चाहन्छौँ त? होइन। हामी सबैलाई स्पेस चाहिन्छ, मौनता चाहिन्छ, केही कुरा आफैंभित्र राख्न पाउने स्वतन्त्रता चाहिन्छ।
सामाजिक सञ्जालले हामीलाई नजिक ल्याएको छ, तर व्यक्तिगत र सार्वजनिक जीवनको सीमाना धमिलो बनाइदिएको छ। “कता गयौ, के खायौ, कोसँग छाै? भन्ने प्रश्न सामान्य रूपमा सोध्दा केही बिग्रँदैन, तर यसको अत्यधिक प्रयोगले अरूलाई दिक्क पार्न सक्छ। मानिसको जीवन सधैं सामाजिक मञ्चका लागि तयार गरिएको नाटक होइन।
त्यसैले, कहिलेकाहीँ केही थाहा नपाउनु पनि एक किसिमको स्वतन्त्रताको स्वाद हो भन्ने बुझ्न आवश्यक छ। नजिकको सम्बन्ध राखौँ, तर दूरीको सम्मान गर्न पनि नछाडौँ। सामाजिक सञ्जाल प्रयोग गरौँ — सशक्त सम्पर्क र सन्देशका लागि — तर विवेकका साथ, समझदारीका साथ।
