सुचना१
newa srijana

पोखरामा दोस्रो दाइँ महोत्सव: परम्परागत कृषिकर्म प्रदर्शन र कृषि पर्यटन प्रवर्द्धन

पोखरा । असारमा हिलोगोरुले हिलो छ्याप्दै रोपिएको धान कात्तिक–मंसिरमा परम्परागत शैलीमै भित्र्याउने नेपाली कृषिसंस्कृतिलाई नयाँ पुस्ता र विदेशी पर्यटकसँग जीवन्त जोड्ने उद्देश्यले पोखरा पर्यटन परिषद्ले शनिबार पोखरा–१९ पुरुन्चौरको चुरुंगामा दोस्रो दाइँ महोत्सव आयोजना गरेको छ।

दाइँ महोत्सवको मुख्य उद्देश्य नेपाली परम्परागत कृषिकर्मलाई संरक्षण र प्रचार गर्नु हो। कार्यक्रमले गोरुले हल जोत्ने, परालको भारी बाँध्ने र गुन्द्री बुन्ने जस्ता गतिविधि प्रदर्शन गरी नयाँ पुस्ता र पर्यटकलाई ग्रामीण जीवनसँग प्रत्यक्ष परिचित गराउँछ। आयोजकहरूले महोत्सवलाई कृषि पर्यटन प्रवर्द्धन गर्ने कृषक र पर्यटनलाई जोड्ने तथा स्थानीय परम्पराको ज्ञान हस्तान्तरण गर्ने प्लेटफर्मको रूपमा महत्वपूर्ण भएको बताएका छन्।

रोपाइँ महोत्सवमा सहभागी विदेशीले धान रोपिएपछि कसरी भित्र्याइन्छ भन्ने जिज्ञासा बढेपछि दाइँ महोत्सव सुरु गरिएको, कार्यक्रम संयोजक हरि भुजेलले बताए। भुजेलका अनुसार नेपाललाई हिमाल र ट्रेकिङका अलावा कृषि–पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न यस्तो कार्यक्रम प्रभावकारी हुन सक्छ र कृषक तथा पर्यटन क्षेत्र जोडिन सके पोखरामा वर्षभरि पर्यटक आकर्षित हुन सक्छन्।

दाइँमा सहभागी विदेशीहरूले किसानले सीमित साधन र मेहनतमै उत्पादन निकाल्ने प्रक्रिया प्रत्यक्ष अनुभव गरे। जर्मनीका बेन्जामिनले भने, “किसानले थोरै साधन र मेहनतमा यति धेरै उत्पादन निकाल्छन् भन्ने कुरा यहाँ आएपछि बुझें। दाइँ हालेर अद्भुत अनुभव भयो।” नेदरल्यान्डकी एल्साले आफ्नो देशमा चामल प्रायः सुपरमार्केटबाट मात्रै किनिने बताइन्, तर नेपालमा मानिसहरूले आफैं उमार्ने, काट्ने र भित्र्याउने परम्परा देखेर रोचक लागेको र “यो संस्कृति र पहाडको दृश्यले नेपाललाई झन् मन परें” भनिन्। जर्मनीकै लुक्सले रातो टोपी र दौरा–सुरुवालमा सजिएका स्थानीयको आतिथ्य असाधारण रहेको र “हामीकहाँ मेसिनले गर्ने काम हातले गर्दै गरेको देखेर सम्मान बढ्यो” बताए।

विद्यार्थी बिन्दु गौतमले परम्परागत दाइँ र गुन्द्री बुनाइ आफ्नो लागि नयाँ अनुभव भएको बताइन्। उनले भनिन्, “यस्ता परम्परा हस्तान्तरण हुने ठाउँ कम छन्। यस्ता कार्यक्रम बढी भए राम्रो।” विद्यार्थी सुदीप खत्रीले खेतमै प्रत्यक्ष अनुभव पाउनु रोमाञ्चक भएको बताए। उनका अनुसार, “गोरुले पराल कुल्चिँदै गरेको र दाइँले धान छुट्याएको दृश्य जीवनभर सम्झन लायक भयो।”

यो महोत्सवमा उत्कृष्ट गोरु पालक, उत्कृष्ट धान उत्पादक, दँदेरो, परालको भारी बाँध्ने र गुन्द्री बुनाइ प्रतियोगितासहित करिब ८ सय सहभागी भेला भएको आयोजकले जानकारी दिएको छ।

Sadak 1
पुल सेन्टर